लुम्बिनी बौद्धविश्वविद्यालयले बुद्ध मावली देवदहमा डिन कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ शैक्षिक सत्रदेखि तीन वटा कार्यक्रम संचालन सञ्चालन गर्ने योजनासहित देवदहमा डिन कार्यालय खुलेको हो।
उक्त डिन कार्यालयको अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार उद्घाटन गर्नुको साथै नयाँ पूर्वाधार निर्माण स्थलको पनि अवलोकन गरेका छन्। विश्वविद्यालयले देवदहमा तपोवन सहितको नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ।
सोही अनुरुप सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरिसकेको छ। सोही जग्गामा पूर्वाधार निर्माणको काम गरिने छ साथै स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डिन कार्यालय संचालन गरिएको छ।
सो अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनाउनेगरी विकास गरिनुपर्ने बताए। बौद्ध शिक्षा र अनुसन्धानसहित बहुविषयमा विश्वस्तरमा चिनाउने गरी विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने उनले आश्वासन दिए।
विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गरी यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने भन्दै अर्थमन्त्री पौडेलले आवश्यक योजना बनाएर ल्याउन समेत आग्रह गरे।
विश्वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्यले चालु शैक्षिक सत्रबाट देवदहमा तीनवटा विषयको पठनपाठन शुरु गरिएको जानकारी दिए। बज्राचार्यका अनुसार एग्रो फोरेष्ट, इन्भारन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका छन्।
एग्रो फोरेष्ट, इन्भारन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुन्। यो शंकायका डिन उकेशराज भुजुले यो पाठ्यक्रमको उद्देश्य प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्नु रहेको बताए।
बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डिन कार्यालय खोल्ने तयारी गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले पछिल्लो विश्वविद्यालय सभाले डिन कार्यालय सहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँ गाउँमा बनाइने जानकारी दिए।
लुम्बिनी, तिलौराकोट र देवदहसहितका बौद्ध स्थलमा बुद्ध दर्शनको पठनपाठन गर्ने योजना बनाएको र तप् योजनाले छिट्टै मुर्त रुप पाउने उनले दावी गरे।