स्थानीयको व्यापक अवरोधकाबीच रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरिएको छ।
शुक्रबार बुटवल र तिलोत्तमास्थित तिनाउ नदी उकास क्षेत्रमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो। उक्त क्षेत्र ९ सय ४६ बिगाहको छ।
सरकारले यसअघि नै मोतिपुरमा औद्योगिक क्षेत्र बनाउन गरेको निर्णय अनुसार शुक्रबार शिलान्यास गरिएको हो। तर स्थानीयले भने वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै विरोध गर्दै आएका थिए।
शुक्रबार पनि कार्यक्रमस्थलमा १० बजे नै उपस्थित भएका स्थानीयले अर्थमन्त्री विष्णु पौडेल र औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतविरूद्ध नाराबाजी गरेका थिए।
शिलान्यासस्थलमा पुरोहितले स्वस्तिवाचन गरिरहँदा बाहिर नाराबाजी भइरहेको छ।
कार्यक्रमस्थल नेकपा कार्यकर्ता र सुरक्षाकर्मीले घेरिएको छ।