राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्।
आयोगले बुधबार भद्रकालीस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तर्क्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन्।
उनले संवैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदीय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै उनले राजनीतिक पूर्वाग्रहबिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारबाहीको सिफारिस गरिने बताइन्।
कार्यक्रममा पत्रकारहरूले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरूमाथि कारबाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाइन्।
उनले त्यस्तो भएको अनुभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाइन्।
उनले भनिन्, ‘यो ठाउँमा रहँदासम्म मबाट कुनै पनि राजनीतिक रंग, प्रभाव र अनुभूति हुने खालको कुनै पनि काम हुनेछैन। यदि कहीँ त्यस्तो अनुभूति भए खबदारी गर्न सक्नुहुन्छ म यहाँहरूसँग यो प्रतिवद्धता व्यक्त गर्दछु। महिला हिंसाका कुनै पनि विषयमा हाम्रो शून्य सहनशीलता हुनेछ र त्यस्ता घटनाहरूलाई छानबिन गर्ने, अनुसन्धान गर्ने, कारबाहीको सिफारिस गर्ने र कारबाही गराउने क्रममा जो कोही भए पनि त्यहाँ राजनीतिक आग्रह पूर्वाग्रहको आधारमा कुनै पनि छुट र सम्झौता हुनेछैन। यो हाम्रो प्रतिवद्धता हो।’
अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थ उपार्जनको बाटोमा नलगाएसम्म उनीहरू हिंसा मुक्त हुन नसक्ने बताइन्। विद्यालयलगायत क्षेत्रमा बालिका र किशोरीमाथि भइरहेका यौनहिंसा लगायतका घटनाले आयोगको गम्भीर ध्यानाकर्षण गराएको भन्दै उनले समस्या समाधानका लागि गृह मन्त्रालय र शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने गरी परामर्श र छलफल भइरहेको बताइन्।
अन्तर्क्रियामा महिला पत्रकारहरूले महिलाका पक्षमा राम्रा कानुन भए पनि कार्यान्वय प्रभावकारी नभएको, लक्षित वर्गलाई कानुनबारे जानकार नभएको, पीडित महिलाले विद्यमान कानुन अनुसार न्याय पाउन नसकेको, महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण दिएर कारबाही हुन नसकेकोतर्फ आयोगको ध्यानाकर्षण गराएका थिए।