गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर २ भवानी माध्यमिक विद्यालयमा भूकम्पले क्षति पुर्याएको छात्रावास पुनर्निर्माण गरिएको छ।
१६० जना विद्यार्थी बस्न मिल्ने गरी संभव नेपालले छात्रावास भवन पुनर्निर्माण गरेको हो। संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीका अनुसार उक्त छात्रावास १६ कोठे छ।
उक्त छात्रावास करिब ५ करोड लगानीमा पुनर्निर्माण गरिएको हो।
उक्त छात्रावास भवनको शनिबार आयोजित कार्यक्रममा आरूघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, संभवका अध्यक्ष खत्री र संभव नेपाल स्वीजरल्याण्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
दुइटा आवास भवन, आठ वटा शौचालय, छ वटा बाथरूम, भान्सा, डाइनिङ निर्माण गरिएको हो। विद्यार्थीका लागि छात्रावासमा आवश्यक पर्ने सामग्रीहरू पनि संभव नेपालबाट सहयोग आएको विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले जानकारी दिए।
सरकारले यस छात्रावासमा बस्न प्रति विद्यार्थी वार्षिक ४० हजार रूपैयाँ उपलब्ध गराउँदै आएको उनको भनाइ छ। एक सय जना विद्यार्थी बस्ने कोटा भए पनि एक सय ५० जना बसोबास गर्दै आएका छन्।