धाकधम्की दिँदै व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा मागेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-३ रामनाथ मण्डल, राजविराज नगरपालिका-४ उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका-१ का रामकृष्ण मण्डल छन्।
पक्राउ परेकामध्ये रामनाथ सप्तरी जिल्ला जनसत्ता प्रमुख र उदयनाथ र रामकृष्ण जिल्ला सदस्य हुन्।
उनीहरूलाई शुक्रबार राति १० बजे सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।
उनीहरूको साथबाट चन्दा माग गर्दा धाकधम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइल, आर्थिक सहयोग बारेको पत्र, जनविद्रोह लेखिएको कितावलगायत बरामद भएको साहले बताए।
उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।