प्रजातन्त्र दिवस अवसरमा अकुपाई टुँडिखेलले बिहान दस बजेदेखि कार्यक्रम गर्ने भनेको थियो। खुलामञ्चमा टुँडिखेलकै फोटो प्रदर्शनी र वक्ताहरू बोल्ने भनिए पनि दस बजेसम्म चालचुल थिएन।
बरू खुलामञ्चदेखि टुँडिखेलसम्म सैनिकको कडा सुरक्षा थियो। टुँडिखेलभित्र दजनौं गाडी पार्क गरिएका थिए। बाहिर प्रवेश निषेध लेखिएर सर्वसाधारणलाई जान रोक लगाइएको थियो। अकुपाइ टुँडिखेल अभियन्ता आलोकसिद्धि तुलाधर नजिकैको मोना म्युजियममा भेटिए। सुरक्षाकर्मीले कार्यक्रम गर्न नदिएकाले फर्कनु परेको उनले बताए।
कार्यक्रम गर्न नदिएको र अब उनीहरूको कार्यक्रम के-कस्तो हुन्छ भन्नेबारे आलोकसँग सेतोपाटीका सबिना श्रेष्ठले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छः
प्रजातन्त्र दिवसमा राष्ट्रपतिको कार्यक्रम भइरहँदा तपाईंहरूले कार्यक्रम गर्न पाउनुभएन छ नि?
हामी त अलमल्ल पर्यौं। सबै कार्यक्रम हामीले हिजै घोषणा गरिसकेका थियौं। तर जब हामी स्थानमा पुग्यौं, भिआइपीका लागि भनेर सुरक्षा अति कडा गरिएको थियो। जुन ठाउँमा हामीले कार्यक्रम गर्ने भनेका थियौं, त्यहाँ प्रहरी तैनाथ थिए। उनीहरूले हामीलाई पस्न दिएनन्।
हिजो नागरिक जान पाउने ठाउँमै आज जान रोक थियो। खुलामञ्च पनि प्रहरीले घेरेर राखे र प्रवेश दिएनन्। हाम्रो कार्यक्रम विथोलियो। एक जना भिआइपीका लागि भनेर जनताको कार्यक्रम विथोलिनु, हाम्रो नैसर्गिक अधिकार हनन हुनु हो। सर्वसाधारणलाई बाधा नपुग्ने गरी कार्यक्रम गरेको भए हुन्थ्यो। हामीलाई केही आपत्ति थिएन। तर सर्वसाधारणलाई यसरी दुःख दिन भएन नि।
एक जना राष्ट्रपति, जो जनताकै छोरी हुन्, उनकै सुरक्षाका लागि यति ठूलो बन्दोबस्त गरेर सर्वसाधारणको अभियानमा असर पार्नु भनेको गल्ती हो। त्यहाँको कार्यक्रम १२ बजे सकिएपछि बल्ल हामीले आफ्नो कार्यक्रम सुरू गरेका छौं।
तपाईंहरूको कार्यक्रममा के–के हुन्छ?
प्रजातन्त्र दिवस उपलक्ष्यमा हामीले जनसाधारणदेखि लिएर जनप्रतिनिधिसम्मलाई खुलामञ्च र टुँडिखेलको महत्व फेरि एकपटक सम्झाउन दुइटा कार्यक्रम राखेका छौं।
पहिलो, खुला ठाउँको महत्व दर्शाउने फोटो प्रदर्शनी खुलामञ्चमा राख्ने। मुक्त टुँडिखेल अभियान बीचमा रोकिएको थियो। राजनैतिक उथलपुथलका समयमा टुँडिखेलको किन महत्व छ भनेर आफ्नो धारणा फेरि सम्झाउन र अहिलेसम्म हामीले गरेका उपलब्धि तथा कमीकमजोरी सुधार्न तुरून्तै के गनुपर्छ भनेर छलफल गर्छाैं। अभियन्ता मात्र नभई स्थानीय र जनप्रतिनिधिले पनि के गर्न सक्छन् भनेर हामीलाई लागेको कुरा त्यहाँ भन्छौं। त्यहाँ गन्यमान्य व्यक्तिहरूले आफ्नो धारणा पनि राख्नुहुन्छ।
त्यो सकाएपछि हामी बृहत् नागरिक आन्दोलनको टुँडिखेल मार्चमा समर्थन जनाउँछौं।
कसरी जोडिनुहुन्छ नागरिक आन्दोलनको कार्यक्रममा?
हाम्रो कार्यक्रम साढे १ बजेतिर सकाएर त्यहाँ जान्छौं। त्यो कार्यक्रममा मलाई पनि वक्ता राखिएको छ। त्यहाँ पनि म खुलामञ्चको महत्वबारेमै बोल्नेछु।
समाचारहरूमा खुलामञ्च खुला भयो भनेर आएको थियो। खुला भएकै हो त?
दुई दिनअघि महानगरपालिकाले डोजर लाएर त्यहाँका टहरा हटायो। ती टहरामा वीर अस्पताल र दरबार हाइस्कुलको निर्माणमा संलग्न कामदार बस्दै आएका थिए। केही दिनअघि त्यहाँको निरीक्षण गर्न हामी गएका थियौं र हटाउन अनुरोध गरेका थियाैं। महानगरले आफैं डोजर लगाएर हटाउनु राम्रो कुरा हो।
तर त्यो हटाउनुका पछाडि केही रहस्य छ कि भन्ने हामीलाई शंका पनि छ। अहिले सुन्न थालिएको छ, प्रधानमन्त्रीको सिधा निर्देशनले त्यहाँ डोजर लगाइएको हो। सँगै खुलामञ्चको महत्व सबैले बुझ्न थाले भन्ने कुरा पनि सुन्नमा आयो। त्यो हो भने राम्रो हो। खुलामञ्चको भाषण, सभा गर्ने ठाउँ भत्किन लागेको छ। त्यसको पनि सबलीकरण गर्नुपर्यो, नभए त्यहाँ खतरा छ। महानगरले त्यसलाई गम्भीर रूपमा लिन्छ कि लिँदैन, हेरौं।
त्यहाँ घरबिहिन मान्छेहरू सुतिरहेका छन्। त्यो गर्न दिनुभएन। उनीहरूको व्यवस्था गर्नुपर्यो र त्यहाँ सरसफाइ पनि हुनुपर्यो। खुलामञ्च अगाडिको खाली मैदान समतल बनाउनुपर्यो। पार्किङ त दुई दिनअघि हटाइएको छ तर त्यो सबै तयारी आजैको कार्यक्रमलाई हो कि?
ठ्याक्कै त्योसँगै जोडिएको सैनिक मञ्चमा भिआइपी धेरै आउने, राष्ट्रपति आउने भएकाले देख्लान् भन्ने पनि छ। त्यसो नहोस्। खुलामञ्च दीर्घकालीन रूपमै खुला गर्न हो भने एकदमै राम्रो काम हो। धन्यवाद भन्छौं र आवश्यक सहयोग पनि गर्छौं।
तपाईंहरूको थप माग के के हो?
उहाँहरूले डोजर लगाएर दुई-चार घन्टामै सकिने सबभन्दा सजिलो काम त गर्नुभयो। त्योसँगैको बसपार्क पनि तुरून्तै हटाउन जरूरी छ।
बसपार्क हटेपछि वीर अस्पतालभित्र चिनियाँ कामदारहरूको ठाउँ छ। त्यो हटाएको छैन। त्यसले पनि ठूलो ठाउँ ओगटेको छ। खुलामञ्चसँगै सबभन्दा ठूलो चुनौती त टुँडिखेल फिर्ता पाउनु पनि हो। विभिन्न सरकारी साथै नेपाली सेनाले अतिक्रमण गरेको ठाउँ फिर्ता गराउनु सरकारकै जिम्मेवारी हो।
त्यो फिर्ता पाउनु विशुद्ध नागरिककै हक हो।
नागरिकको प्रतिनिधि भनेको त मेयर नै हुन्। जनताको साथ चाहिन्छ भने हामी छौं। हामी नागरिक भएर बारम्बार सेना अनि मन्त्रालयमा घचघचाउनुपर्ने त राम्रो होइन नि।