नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गर्ने भएको छ। सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने योजना बनाएको हो।
दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए।
खड्काकाअनुसार सेनाले अभियानको अगुवाइ र संयोजन गर्नेछ भने नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ।
सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने योजना बनाएको छ।
सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालमा सरसफाइ गर्न लागेको सैनिक प्रवक्ता सहायक रथि सन्तोष बल्लभ पौडेलले बताए।
२०७७ चैत ३१ गते आरोहण टोलीलाई ब्यानर हस्तान्तरण गरेर अभियानको सुरु हुने र २०७८ सालको जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ।
सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाडौं ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि जनाएको छ। अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको सहभागिता रहनेछ।
सगरमाथामा मात्रै १ लाख ४० हजार टन फोहर, मानिसको शरीरबाट निस्किएको फोहर ४० टन, ३ सय भन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको सेनाको भनाइ छ।