झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराका सुबोध साहसहित १३ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।
विभिन्न ११ वटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजश्व छलेको अभियोगमा साहसहितलाई मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उनीहरूलाई ९१ करोड ३० लाख ५६ हजार ५१० रुपैयाँ बिगो माग दाबी लिइएको छ।
१३ मध्ये १० अभियुक्त र तीन जनालाई मतियारको रुपमा मुद्दामा प्रतिवादी बनाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
उनका अनुसार साह सर्लाही बलरा नगरपालिका–७ का हु्न्। ती फर्महरूले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली भ्याट बिल बनाएर बिजकको कारोबार गर्ने गरेको अनुसन्धानमा देखिएको छ।
ती सबै व्यापारिक फर्मको राजश्व चुहावटको पृष्ठभूमिमा साह हुन्।