'म साइबर क्राइम डिपार्टमेन्टबाट हो' भन्दै फोन गरी विवरण माग्नेहरूसँग सतर्क रहन साइबर ब्युरोले आग्रह गरेको छ।
मंगलबार ब्युरोले एक सूचना जारी गर्दै यस्ता फोनहरूबाट जोगिन आग्रह गरेको हो।
विभिन्न व्यक्तिहरूलाई अननोन, प्राइभेट, कुनै पनि नम्बर नदेखाउने वा फेसबुकको मेसेन्जरमार्फत् कल गरी 'म साइबर क्राइम डिपार्टमेन्ट'बाट प्रहरी बोलेको भन्दै फोन आउने गरेको भन्दै ब्युरोमा उजुरी परेका छन्।
त्यसरी फोन गरी फेसबुक ह्याक भएको, अश्लिल फोटो तथा तस्वीरहरू भाइरल भइरहेको छ भन्ने बताउने गरेको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार त्यसपछि भाइरल भएका तस्वीहरू एक पटकका लागि रोकिदिएको तर भेरिभाइ गर्न एकपल्ट नग्न तस्वीर वा भिडिओ इमेल, मेसेन्जरमार्फत् पठाउन भन्ने गरेको छ।
पछिल्लो समयमा यस्ता घटना बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो।
'प्रविधिको दुरूपयोग गरी गैरजिम्मेवारी तथा ऐन कानुनविपरीत कार्यप्रति सजग भई, त्यसरी झुक्याउने खालका क्रियाकलापहरूबाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरू उपलब्ध नगराउनका साथै त्यस्ता कार्यहरू भए/ गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।'