बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन्।
नगरसभाको माइन्युटमा कर्मचारीको हस्ताक्षर किर्ते गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।
पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरी छन्।
डिएसपी गौतमका अनुसार यादव र चौधरी शुक्रबार पक्राउ परेका थिए। त्यस्तै, जयसवाललाई भने आइतबार पक्राउ गरिएको उनले बताए।
'मेयरसहित चार जनाविरूद्ध मुद्दा चलिरहेको छ। नगरसभाको माइन्युटमा हामीले हस्ताक्षर गरेका छैनौं भनेर कर्मचारीले जाहेरी दिनुभएको थियो। त्यही मुद्दामा नगर प्रमुखसहित चार जनामाथि अनुसन्धान भइरहेको हो,' मिश्रले भने।
नगरपालिकाका मेयर विजयशंकर यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिई बयान लिइसकेको उनले बताए। उनलाई अहिले तारेखमा राखिएको हो।
'हामीले मेयरलाई पहिले नै नियन्त्रणमा लिएर बयान लिएका थियौं,'उनले भने,'उहाँ अहिले तारिखमा हुनुहुन्छ।'
उनीहरूमाथि प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।