गोंगबुमा बरखी बारेका व्यक्ति र दुई जना ट्राफिक प्रहरीबीच हेल्मेट नलगाएको विषयमा झगडा भएको छ।
शुक्रबार साँझ काठमाडौंको गोंगबु बसपार्कमा ३० वर्षीय आसिफ देउला र दुई जना ट्राफिक प्रहरीबीच झगडा भएको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
बुढानिलकण्ठ नगरपालिका-३ बस्ने देउलाले बरखीका कारण हेल्मेट लगाएका थिएनन्।
‘सुरूमा सामाखुसीमा ट्राफिक प्रहरी र देउलाबीच हेल्मेट नलगाएको विषयमा विवाद भएको थियो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘बरखी भनेपछि ट्राफिकले कागजपत्र देखाउनु भन्दा नदेखाउने जस्तो कुरा गरे।’
‘त्यसो भए चौकी जाऔं’ भन्दै ट्राफिक प्रहरीले उनलाई गोंगबु बसपार्क गेटसम्म ल्याए।
त्यसपछि चौकीतिर आउन नमानेर सिधै जान खोजेपछि विवाद भएको श्रेष्ठले बताए।
‘विवाद भएपछि स्कुटर चालकले आफूलाई ट्राफिकले कुटेको भन्छ। ट्राफिकको कुरा सुन्दा आफूमाथि पहिले हातपात गर्यो भन्छ,’ उनले भने।
एक जना ट्राफिक प्रहरी र स्कुटर चालक झगडा गरिरहेको देखेपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ गएर देउलामाथि कुटपिट गरेको उनले बताए।
त्यहाँ ट्राफिकका प्रहरी जवान विवेक नकाल र देवानन्द साह थिए।
कुटपिट भएपछि देउलालाई उपचारको लागि काठमाडौंको पिपुल्स अस्पताल लगिएको छ।
अस्पतालका डा. प्रतिक्षा तिवारीका अनुसार उनको बाहिरी चोट देखिएको छैन।
‘उहाँको बाहिरी चोट छैन। पेटमा खुट्टाले हानेको भन्नुभएको छ। हान्दा मांसपेसीमा दुखेको हो। उहाँलाई हामीले नदुख्ने औषधि दियौं,’ डा. तिवारीले भनिन्, ‘केही गम्भीर अवस्था छैन। सुधार भयो भने डिस्चार्ज गरिदिन्छौं।’
यस विषयमा अनुसन्धान पनि अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए। ‘सर्वसाधरणहरूले भिडिओ पनि खिचेको भनेका छन्। खास कुरा केहो भन्ने भिडिओ हेरेर पनि थाहा होला। अहिले मैले पाइसकेको छैन,’ उनले भने, ‘जे भए पनि बाटोमा मान्छेले कुट्यो भन्दैमा अरू मिलेर कुट्न पाइन्न। राष्ट्रसेवक भएपछि झनै शंकित हुनुहुन्न,’ उनले भने।
उनीहरूमाथि अनुसन्धान गरी आवश्यक परेमा कारबाहीसमेत गर्ने प्रहरी निरीक्षक श्रेष्ठले बताए।