उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत विभिन्न सरकारी विद्यालयमा पढिरहेका विद्यार्थीलाई सम्भव नेपालले न्यानो कपडा उपलब्ध गराएको छ।
सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले दिएको जानकारीअनुसार एक हजार चार सय १२ जना विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
बिहीबार सिर्दिवासमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरूलाई उक्त न्यायो कपडा र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका थिए।
सम्भव नेपालले गोरखाका धार्चेका २५ विद्यालयका चार हजार २० जना र भीमसेनथापा गाउँपालिकाका ४३ विद्यालयका पाँच हजार तीन सय जना विद्यार्थीलाई पनि छिट्टै शैक्षिक सामग्री र पोशाक वितरण गर्ने खत्रीको भनाइ छ।
विद्यार्थीलाई ट्याकसुट, टोपी, झोला र कापी वितरण गरिएको छ। एक विद्यार्थीलाई करिब एक हजार सात सय रूपैयाँको सामग्री वितरण गरिएको छ।
पर्यटन व्यवसायीसमेत रहेका खत्रीले कोरोना महामारीका बेला गोरखामा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका थिए।