ट्राफिक प्रहरीले हराएका २५ वटा मोटरसाइकल सवारी साधन धनीलाई बुझाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।
महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो।
बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मूलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलंकी लगायतबाट फेला पारेको महाशाखाले जनाएको छ।
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोसाकमा प्रहरी परिचालन गरी हराएका सवारी साधनको खोजीलाई तीव्रता दिएको बताए।
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ।
असोज ९ गते गोकर्णेश्वरबाट मोटरसाइकल चोरी गरेको आरोपमा भएको नुवाकोट शिवपुरी गाउँपालिका-८ का २६ वर्षीय विष्णु मिजारलाई सोमबार पक्राउ गरेको छ।
पक्राउ गरी उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाएको छ।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेका भन्दै सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरूलाई सुझाव दिएका छन्।
महाशाखाले यस आर्थिक वर्ष ०७७/७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाइकल जिम्मा लगाइसकेको छ।
त्यस्तै, चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरिसकेको छ।
त्यस्तै, उनीहरूमाथि चोरी मुद्दा चलाइसकेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।