लागुऔषध कारोबार र प्रयोगमा आक्रामक कारबाही थालेको झापा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ।
यस क्रममा सोमबार काँकडभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरू ब्राउनसुगरका कारोबारी रहेको झापा प्रहरीले जनाएको छ।
झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सोमबार ३ बजे मेचीनगर-६ मेची पुलबाट झापा कमल गाउँपालिका-६ का २८ वर्षीय प्रकाश लिम्बू पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लिम्बूको साथबाट १८ ग्राम ब्राउनसुगर बरामद गरेको हो।
यस्तै, मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाउँबाट सोही ठाउँको वडा नं. ६ मिनी मार्केट बस्ने २४ वर्षीय सुरज खड्कालाई ब्राउनसुगरसहित पक्राउ गरिएको भट्टराईले बताए।
उनको साथबाट दुई ग्राम ब्राउनसुगर बरामद भएको भट्टराईले बताए।
ब्राउनसुगर भारतीय बजार हुँदै नेपाल तस्करी हुने गरेको छ।
नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ।
त्यही ब्राउनसुगर नेपाली बजारमा पुन: ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ।
‘नेपाली बजारमा मानिसहरूको अवस्था हेरेर तीन हजारदेखि १० हजारसम्म प्रतिग्राम बिक्री हुने गरेको पाइएको छ,’ एसपी भट्टराईले भने।
पक्राउ परेका दुबै जनालाई लागुऔषध कारोबार तथा ओसारपसार ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।
भट्टराईले लागुऔषध कारोबार, प्रयोग र ओसारपसारमा प्रहरीले तीव्र कारबाही गरिरहेको बताए।