आइतबार दिउँसो करिब १-२ बजे सन्देश परियार ललितपुरको झम्सिखेलबाट जावलाखेल पैदल जाँदै थिए।
उनी गौशाला बस्थे। काम परेर ललितपुर आएका थिए। हिँड्दै गर्दा उनी बीच बाटोमै रोकिन पर्यो।
उनी ‘हेर्ने कथा’का भिजुअल इडिटर पनि हुन्।
बाटोमा हिँड्दै गर्दा उनलाई गस्तीमा आएका दुई जना प्रहरीले रोके। उनीहरू विपरीत दिशाबाट मोटरसाइकलमा आएका थिए।
प्रहरीले परियारलाई देख्नेबित्तिकै भने,‘ए कता, कता। एकछिन एकछिन।’ उनी त्यहीँ रोकिए।
हतार-हतारमा परियार भएको ठाउँमा आएर एक प्रहरीले कता जान लागेको भन्दै सोध्न थाले।
त्यसपछि परियारमाथि बीच बाटोमै दुबै जना प्रहरीले खानतलासी तथा सोधपुछ गर्न थाले।
‘मैले ब्याग पनि बोकेको थिएँ। के हो त्यो ब्यागमा भनेर सोधे। खानतलासी गरे,’ परियारले सेतोपाटीसँग भने, ‘ज्याकेट पनि खोल्न लगाइयो। मेरो पर्स पनि हेरे।’
उनको जुत्ता पनि फुकाल्नका लागि इशारा गरिरहेको बताए।
‘मैले हिजो स्कुटरकै सामान पनि किनेको थिएँ त्यसपछि झन् के हो के हो। जुत्ता पनि फुकाल्न भनेर इशारा गरिरहेका थिए। तर त्यो चाहिँ मैले मानिनँ,’ उनले भने।
परियारले दाह्री र कपाल लामो पालेका छन्।
त्यसरी केहीबेरको केरकारपछि ती प्रहरीमध्ये एकले ठूलो पदका प्रहरीलाई फोन गरे, ‘यहाँ एउटा केटा भेटियो, लामो कपाल छ, दाह्री पनि पालेको छ के गर्ने?’
संयोगले नै होला उनले कालो मास्क, कालै ज्याकेट लगाएका थिए।
त्यसपछि बीच बाटोमा बसेको २० मिनेटपछि उनले अर्का प्रहरी आए। उनले पनि त्यसरी नै केरकार र प्रश्न सोधे।
परियारले प्रहरीले सोधेका प्रश्नको उत्तर दिँदै गए।
‘अर्का प्रहरी आएर पनि खानतलासी गरे। पर्सदेखि सबै कुरा हेरे। लगभग ३०-४० मिनेटसम्म त्यसरी रोकिएपछि जानुस् तपाईं भनेर पठाउनुभो,’ उनले भने।
बीच बाटोमै रोकेर उनलाई प्रहरीले खानतलासी तथा सोधपुछ गरेपछि भने उनको मन थामिएन। घर पुगेर फेसबुकमा स्टाटस लेखे।
प्रहरीले रिपोर्टिङ गर्दा ‘लामो दाह्री र कपाल भएको मान्छे भेटियो’ भनाइले उनको मन बिझाएको थियो।
‘हैन हाम्रो प्रधानमन्त्रीलाई लामो कपाल दाह्रीको कस्तो सुरक्षा थ्रेट भएछ? आज झम्सिखेलबाट जावलाखेल जाँदै गर्दा लामो कपाल र दाह्री पालेकै कारण मलाई एक घन्टा बाटोमा केरकार गरियो। झोला खोतलियो, ज्याकेट खोल्न लगाइयो, जुत्ता पनि खोल्न भनियो तर खोलिनँ। गालीको भाषा प्रयोग गरियो,’ उनले लेखेका छन्, ‘हाम्रो प्रधानमन्त्रीलाई दाह्री र कपालको कस्तो सुरक्षा थ्रेट भएछ। जे होस् आज धेरै निरिह महशुस गरें। सुनेको थिएँ- राजतन्त्रको अन्त्यताका यसरी नै युवाहरूलाई कानको मुन्द्रा, कपाल, दाह्री बाटोमै खोल्न वा काट्न लगाइन्थ्यो। आज त्यसैको भुक्तभोगी हुनुपर्यो।’
उनीमाथि दुर्व्यवहार भएको भन्दै ‘हेर्ने कथा’ले पनि आफ्ना सहकर्मीमाथि दुर्व्यवहार भएको भन्दै विरोध गरेको थियो।
उनीमाथि यसरी किन प्रहरीले दुर्व्यवहार गर्यो त भन्नेबारेमा हामीले महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनलाई सोध्यौं।
उनका अनुसार पुल्चोकस्थित एक कोलोनीको घरमा आइतबार बिहान करिब ११ बजे चोरी भएको प्रहरीले खबर पाएको थियो। त्यहाँबाट केही सुनका गरगहाना चोरी भएको थियो।
स्थानीयहरूले पनि चोरले कालो ज्याकेट लगाएको देखेको भन्ने खबर प्रहरीलाई गरेका थिए।
प्रहरीको कन्ट्रोलबाट पनि हुलिया बताउँदा कालो ज्याकेट भएको मान्छेलाई खानतलासी गर्नु पर्ने खबर गरिएको एसपी महर्जनले बताए।
‘हिजो पुल्चोक एरियामा चोरी भएको रहेछ। त्यहाँका मान्छेहरूले कालो ज्याकेट लगाएको मान्छेले चोरी गरेको भन्ने खबर पाए,’ उनले भने, ‘त्यही बेला दिउँसो उहाँले पनि कालै ज्याकेट लगाउनु भएको रहेछ। कन्ट्रोलबाट पनि यस्तो खालको हुलिया भएको मान्छे छ त्यसलाई सर्च गर्नु भनेपछि उहाँलाई भेटाउनु भयो। त्यही भएर उहाँमाथि सोधपुछ गरिएको रहेछ।’
तर, परियारमाथि प्रहरीले दुर्व्यवहार भने नगरेको उनले बताए।
‘दुर्व्यवहार भने भएको रहेनछ। पुलिसले तपाईंलाई अप्ठ्यारो लाग्छ कि भनेर सोधेको पनि थियो,’ उनले भने, ‘होइन ठिक छ केही छैन भन्नु भो।’