मोरङ उर्लाबारीलाई आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न सुसन लिम्बू पक्राउ परेका छन्।
अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार अभियुक्त लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका-५ का ३४ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूलाई पक्राउ गरेको हो।
अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ परेका हुन्।
जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई ९ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
विशाल ढुंगेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन्।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी-४ आइतबारेबाट नियन्त्रणमा लिएर झापा प्रहरीलाई बुझाइएको थियो।
लिम्बूले २०७२ साल पुस १५ गते विर्तामोड-६ का विशाल ढुंगेललाई अपहरण गरेका थिए।
विर्तामोडबाट हातखुट्टा बाँधेर लिम्बूले ढुंगेललाई बा१३च ६५९७ नम्बरको गाडीमा राखी भारत पानीट्यांकी पुर्याएका थिए।
पानीट्यांकीमा पुगेपछि ढुंगेल उम्किएर काँकडभिट्टा आएपछि प्रहरीमा निवेदन दिएका थिए।
झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार २०७३ साल माघ १० गते जिल्ला अदालतले लिम्बूलाई मानव अपहरण तथा शरीबन्धक र चोरी मुद्दामा सात वर्ष कैद सजाय तोकेको थियो।
बुधबार नै उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले कारागारको पूर्जी दिएको थियो।