भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा भन्ने ठाउँमा पहिरो खसेको हो।
‘बाटो विस्तार गर्दा ठूलो मात्रामा ढुंगा-बालुवा-गिट्टी नदीमा खसेको छ,’ पोखरेलले सेतोपाटीसँग भने।
भारतीय पक्षले त्यहाँ पहरो भत्काउन ब्लाष्ट गरेको हुनसक्ने आशंका गरिएको छ।
पहिरो खसेको नेपालपट्टि दार्चुलाको ब्यास गाउँपालिका-२ नम्बर वडा पर्छ।
पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको पोखरेलले बताए।
नेपाल र दुबै पक्षका सुरक्षाकर्मीहरू पहिरो हटाउन लागिपरेको उनले बताए।
महाकाली नदी थुनिएपछि कञ्चनपुर प्रशासनले नदी आसपासका क्षेत्रमा सतर्कता बढाउन अनुरोध गरेको छ।
साँझ प्रशासनले सूचना जारी गरी छेउछाउका बस्ती तथा पुल बनाउन काम गरिरहेका मजदुरहरूलाई सतर्कता अपनाउन भनेको छ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘महेन्द्रनगर-दोधारा जोड्ने पुल बनिरहेको छ, त्यहाँका कामदारलाई सुरक्षित हुन भनेका छौं, पानीको बहाव बढेर छेउछाउका बस्ती जोखिममा पर्ने भएकाले मानिसहरूलाई सतर्क रहन भनिएको छ।’
कञ्चनपुर प्रशासनले सम्भावित क्षतिलाई मध्यनजर गरी विपद व्यवस्थापनको टिमलाई तयारी अवस्थामा राखेको छ।