सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो।
तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्डविपरीत आफैं पहिलो खोप लगाएका छन्। मन्त्री यादव स्वयंले पहिले खोप लगाएपछि त्यसको आलोचना समेत भएको छ।
मन्त्री यादवले कोरोनाविरूद्धको खोप (कोभिडसिल्ड)लाई लिएर विभिन्न अफवाह रहेकाले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए।
प्रदेश २ मा एकैसाथ ३ अस्पतालबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ।
प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरूद्धको खोप लगाउने अभियान सुरू भएको हो।
मुख्यमन्त्री लालबाबु राउत वीरगञ्जको नारायणी अस्पतालमा भएको एक कार्यक्रमबीच खोप अभियानको शुभारम्भ गरे भने प्रादेशिक अस्पताल जनकपुरधाममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफैं पहिलो खोप लगाएर शुभारम्भ गरेका छन्। त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गरे।
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा नर्स हेमा थापाले पहिलो खोप लगाइन् भने गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स सुनिता थापाले पहिलो खोप लगाइन्। जनकपुरधाममा भने मन्त्री यादवले खोप लगाएलगत्तै प्रादेशिक अस्पतालको नर्सहरूको इन्चार्ज सन्ध्या दासले खोप लगाएकी थिइन्।
साथै मेडिकल सुपरिटेण्डेण्ट प्रमोद कुमार यादव समेतले खोप लगाएका थिए।