यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी र बिचौलिया दुई लाख ७३ हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगतलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई अख्तियारको टोलीले कार्यालय परिसरबाटै मंगलबार नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
कार्यालयमा भइरहेको स्काभेटर र लोडरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा उनीहरूले परीक्षार्थीबाट घुस माग गरेका थिए।
घुस लिएको सूचना पाएपछि अख्तियारको टोलीले कार्यालय सहयोगी कापरको कोठामा तलासी गरेको थियो।
त्यहाँबाट अख्तियारले २ लाख २३ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको थियो।
त्यस्तै, बिचौलिया भगतबाट परीक्षार्थीहरूको नाम र दर्ता नं. भएको कागजात बरामद गरेको हो। उनीबाट अख्तियारले परिक्षार्थीहरूको पैसा बुझाउन ल्याएको भनिएका ५० हजार रकम बरामद गरेको थियो।
उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।