देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएका हुन्। डा. खनाललाई खोप कार्ड हस्तान्तरण गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरूआत गरेका हुन्।
भारत सरकारले नेपाललाई उपलब्ध गराएको खोप पहिलो चरणमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएर सेवा प्रदान गरेका स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाइने बताइएको छ।
सोही अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खनालसँगै अन्य १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले बुधबार नै खोप लगाउँदै छन्।
डा. खनाल दुई महिना पहिले कोरोना भाइरसको संक्रमणपछि १० दिन बढी आइसियू र आइसोलेसन अस्पतालमा भर्ना भई संक्रमणमुक्त भएका थिए।
लुम्बिनी प्रदेशमामा पहिलो चरणमा ३९ हजार ४ सय ९५ जनाको लागि खोप आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए।
प्रदेश स्वास्थ्य निर्देशनालयले ३९ हजार ४ सय ९५ लाई २ डोज पुग्ने खोप प्राप्त भएको र सबै खोप सम्बन्धित जिल्लामा पठाइएको जनाएको छ।
केन्द्रका सूचना अधिकारी हरि प्रसाद आचार्यका अनुसार रुपन्देही जिल्लामा १५ हजार ५३ जनालाई पुग्ने ३ हजार ३ सय ४२ भाइल खोप राखिएको छ।
यस्तै, बाँकेमा ७ हजार ७ सय जनालाई पुग्ने १ हजार ७ सय ९ भाइल, दाङमा २ हजार ९ सय ७० जनालाई पुग्ने ६ सय ५९ भाइल, कपिलवस्तुमा २ हजार ४३ जनालाई पुग्ने ४ सय ५४ भाइल, पाल्पामा २ हजार ४ सय ६० जनालाई पुग्ने ५ सय ४६ भाइल खोप पठाइएकोे छ।
त्यसैगरी, प्युठानमा १ हजार ६३ जनालाई पुग्ने गरी २ सय ३६ भाइल, बर्दियामा १ हजार ९ सय ६२ जनालाई पुग्ने गरी ४ सय ३६ भाइल, अर्घाखाँचीमा १ हजार ७ सय ३४ जनालाई पुग्ने गरी ३ सय ८५ भाइल, नवलपरासीमा १ हजार ७२ जनालाई पुग्ने गरी २ सय ३८ भाइल, रुकुम पूर्वमा ४ सय ६७ जनालाई पुग्ने गरी १ सय ४ भाइल, गुल्मीमा १ हजार ८ सय ८२ जनालाई पुग्ने गरी ४ सय १८ भाइल र रोल्पामा १ हजार ८९ जनालाई पुग्ने गरी २ सय ४२ भाइल खोप पुर्याइएको छ।