नागरिक आन्दोलनको प्रदर्शनका क्रममा बालुवाटारमा सोमबार भएको प्रहरी हस्तक्षेपबारे फोटो पत्रकार क्लबले ध्यानाकर्षण भएको जनाएको छ।
अपराह्न विज्ञप्ति जारी गरी फोटो पत्रकार क्लबले प्रहरी हस्तक्षेपको क्रममा पत्रकारहरूमाथि लाठी, पानीको फोहरा र ढुंगा प्रहार भएको जनाएको छ।
उसले तस्बिर खिच्ने पत्रकारलाई लक्षित गरी भएको प्रहारबाट पाँच जना फोटो पत्रकार घाइते भएको साथै क्यामरामा पनि क्षति भएको जनाएको छ।
फोटो पत्रकार नरेन्द्र श्रेष्ठ (इपिए), नरेश श्रेष्ठ (द हिमालयन टाइम्स), केशव थापा (कान्तिपुर), अंगद ढकाल (कान्तिपुर), प्रवीण कोइराला (नेपालखबर)माथि प्रहरीले हस्तक्षेप गरेको क्लबको भनाइ छ।
प्रहरीको हस्तक्षेपबाट थापा, ढकाल र कोइराला घाइते हुनुका साथै उनीहरूको क्यामरामा समेत क्षति पुगेको क्लबले जनाएको छ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै क्लबले चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र सञ्चारकर्मीमाथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
नागरिक अगुवाहरूको आन्दोलनमा सोमबार बालुवाटारमा प्रहरीले अन्धाधुन्द लाठी, लात्ती र फोहरा प्रहार गरेको थियो।