पूर्वपश्चिम राजमार्गको बारा-जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका छन्।
बा १६ च ८११ नम्बरको कारले गत पुस १८गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो। प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो।
उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिए।
अदालतले उनीसँग साढे ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो। उनले सो रकम बुझाएर छुटेको यादवले बताए।
उनीमाथि बाघलाई सवारीसाधनले ठक्कर दिई मारेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो।
'हामीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा बुझाएका थियौं। अदालतले उनलाई तारेखमा छाडे,'यादवले भने।
निकुञ्जले सो कसुरमा ५ लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १० वर्षसम्म कैद सजायको माग गरेको थियो।