सर्लाही हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ।
एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ।
दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान सर्लाहीमा सडकबाट तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले दिएको जानकारीअनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा चालकसहित १७ जना घाइते छन्। गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए।
दुर्घटनाको कारण खुलेको छैन। ‘सडकबाट बस तल खसेको छ,’ उनले भने। बसमा ३० जना यात्रु थिए।