काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन्।
आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्बोधन गर्दै उनले भने ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ।’
उनले सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको दावी गरे।
उनले भने, ‘पुनर्निर्माको काम अहिलेसम्म सकिसक्नु पर्ने हो। हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ, तर अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ।’
पुरातत्वले आफूहरुलाई काम रोक्न भनेर आदेश नदिएको शाक्यले बताए। उनले थपे ‘पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो। हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ, त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ।’