जग्गा धनीलाई थाहै नदिई कागजात किर्ते गरी जग्गा बेच्ने मालपोतका अधिकृतसहित दुई जना कर्मचारी पक्राउ परेका छन्।
प्रहरीले ठगी आरोपमा मालपोत कार्यालय, कलंकीका शाखा अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार उनीहरूले कागजात किर्ते गरी ७२ लाख रुपैयाँ ठगेका थिए।
दाहाल र श्रेष्ठले थानकोटकी मीना खड्काको नाममा रहेको २० आना जग्गाको नक्कली कागजात बनाएको डिएसपी विष्टले बताए। उनका अनुसार जग्गा बिक्री हुँदा मीना खड्का बेल्जियममा थिइन्।
श्रेष्ठ र दाहालले नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाएर जग्गा बिक्री गरेका थिए। सो जग्गा बिक्री गर्न अधिकृत दाहालले सुब्बा श्रेष्ठको टोली खटाएका थिए। श्रेष्ठले कलंकीस्थित एक होटलमा पोहोर साल पुस २३ गते राजीनामा लिखत पारित गरी नयाँ मान्छेको नाममा नामसारी गरेका थिए।
जग्गा पास भएको केही दिनपछि बेल्जियममा रहेकी मीनाले थाहा पाइन्। स्वदेश फर्किएर उनले मालपोत कार्यालय कलंकीमा रहेको मोठ जग्गाधनी दर्ता श्रेस्तामा सच्याई नामसारी बदर गरेकी थिइन्।
त्यसपछि जग्गा किन्नेहरूले प्रहरीमा उजुरी दिएका थिए।
'नामसारी बदर भयो तर दाहाल र श्रेष्ठले पैसा फिर्ता गरेनन्,' डिएसपी विष्टले भने,'त्यही मुद्दामा हामीले दुई जनालाई नियन्त्रणमा लिएका हौं।'
शाखा अधिकृत दाहालले जाहेरवालाहरूलाई बोलाएर राजीनामा लिखत र जग्गाधनी प्रमाणपूर्जा फिर्ता लिएर आफैं राखेको डिएसपीले बताए।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।