चक्रवर्ती मिटरब्याज लगानी गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले मोरङबाट अर्का मिटरब्याजी पक्राउ गरेको छ।
रंगेली नगरपालिका-६ मधुवनीका विनोद मण्डललाई प्रहरीले पक्राउ गरी आइतबार ठगी मुद्दामा अनुसन्धान थालेको हो।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मण्डल पूर्वशिक्षक हुन्।
उनले सोही नगरपालिका-५ का श्यामनारायण मण्डललाई मिटरब्याज लगानी गरी ठगेको पाइएको खड्काले बताए।
विनोदले श्यामलाई पाँच लाख रुपैयाँ ऋण दिएर आठ लाख रुपैयाँ उठाइसकेका छन्। तर, ऋण दिँदा धितो राखेको जग्गा फिर्ता नदिइकन मण्डलले थप ७० लाख मागेपछि पीडित जाहेरी दिन प्रहरीमा पुगेका थिए।
‘हामीले पीडकले राख्ने गरेका खातापाता बरामद गरेका छौं,’ खड्काले भने।
यसअघि प्रहरीले विराटनगरका दुई मिटरब्याजी सञ्जय रौनियार र एजाज शेख अहमदलाई पक्राउ गरेको थियो। अहमद आइतबार मात्रै अदालतमा पाँच लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए भने रौनियार अहिले अनुसन्धानको क्रममा हिरासतमै छन्।
अवैध मिटरब्याज धन्दामा प्रहरीले कारबाही सुरू गरेपछि पीडितहरू जाहेरी लिएर आउन थालेको खड्काले बताए।
मण्डलले अन्य के कति सर्वसाधारणलाई ठगी गरेका छन् त्यसमाथि अनुसन्धान थालिएको खड्काले बताए। मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ।