भक्तपुर प्रहरीले चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।
बिहीबार प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडाका १८ वर्षीय कृष्ण थिङ, काभ्रे पनौती नगरपालिका-८ का १८ वर्षीय अनिश श्रेष्ठ र १४ वर्षका दुई जना बालकलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार मध्यराति साढे १२ बजे भक्तपुर नगरपालिका-४ राममन्दिर नजिकै पार्किङमा राखेको बा ३२ प ७९५३ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
सूर्यविनायक-८ स्थित थापा पार्टी प्यालेस बस्ने २५ वर्षीय राजन पोतामाहाले प्रहरी कन्ट्रोलमा फोन गरी आफ्नो मोटरसाइकल हराएको जानकारी गराएका थिए।
सो खबरपछि महानगरीय प्रहरी परिसर, भक्तपुरका मातहतमा प्रहरी चेकपोष्ट खडा गरेको प्रवक्ता डिएसपी दीपक गिरीले बताए।
सोही बिहान पौने २ बजे चाँगुनारायण नगरपालिका-८ रानीबारीमा महानगरीय प्रहरी प्रभाग सुँडाल भक्तपुरबाट टोली खटिएको थियो।
सो टोलीले चोरीको मोटरसाइकल चार जना व्यक्तिहरूले ठेल्दै डोर्याउँदै गरेको टोलीले फेला पारेको थियो। रोकेर सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको फेला परेको थियो।
राजन पोतामाहाले चोरी भएको किटानी जाहेरीको आधारमा उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
उनीहरूलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, भक्तपुरले अनुमति दिएको छ।
दुई जना बालकलाई भने भक्तपुरको बाल सुधार गृहमा राखेर अनुसन्धान गरिएको डिएसपी गिरीले बताए।