महानगरभित्रका सम्पदाको संरक्षणका लागि ललितपुर महानगरपालिकाले फुटपाथ पसल हटाउने अभियानलाई तिब्रता दिएको छ। विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी भाडामा लगाएका सम्पदामा सञ्चालित कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सेतोपाटीलाई जानकारी दिए।
महानगर क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमणहुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यस्तो अभियान चलाइएको नगर प्रहरी प्रमुख हाछेथुले बताए।
लामो समयदेखि यस्ता सार्वजनिक स्थानका फल्चाहरुमा कपडा पसल तथा फलफूल र तरकारी पसल सञ्चालन हुँदै आएका छन्। उक्त फल्चामा स्थानीय समिति तथा व्यक्तिले जथाभावी आफूखुसी पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको पाइएको उनले जानकारी दिए।
महिनामा एकपटक भजन कार्यक्रम हुँदै आएको मंगलबजारभित्रको १५० वर्ष पुरानो फल्चा ‘कृष्ण पाटी’ अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको उनले जानकारी दिए।
‘१५० वर्षभन्दा पुरानो कृष्ण पाटीमा अब कुनै पनि व्यापारिक पसलहरू हुनेछैनन्। अब यहाँ नियमित भजन कृर्तन हुनेछ’, उनले भने,‘स्थानीय व्यक्तिले भाडा उठाउँदै आएको यस्ता पाटी पौवामा सञ्चालित पसल हटाएर चिटिक्क पारिएको छ। यहाँ अब कसैले पसल राखे कारबाही हुन्छ।’
उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबाट मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए ।
नगर प्रहरीले शनिबार र आइतबार गरी विभिन्न एक दर्जनभन्दा बढी सम्पदा अतिक्रमण गरेर सञ्चालनमा आएका पसल हटाएको छ। सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने मात्र नभई नगर प्रहरीले सरसफाइ र संरक्षणका गतिविधि सञ्चालन थालेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।
ऐतिहासिक सम्पदाहरू हेर्न नमिल्ने गरी पसल राखिँदा पर्यटन र ऐतिहासिक स्थलको महत्त्व घट्ने भन्दै उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए।
यसअघि ललितपुर महानगरले फुटपाथ अतिक्रमण गरी राखेका पसल हटाउनुका साथै गैर कानुनी रूपमा बनाएका संरचनासमेत भत्काइसकेको छ।
उनले मापदण्ड मिचेर कुनै पनि संरचना बनाउन नदिने महानगरको नीति रहेको भन्दै मेयर महर्जनले दिएको निर्देशन अनुसार नगर प्रहरी चल्ने स्पष्ट पार्दै गलत गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्नै बताए।
‘तपाईहरूका आफ्नो टोल छरछिमेकमा मापदण्ड मिचेर घर निर्माण भइरहेको शंका लागेमा हामीलाई जानकारी दिनुहोस् हामी कानुनी दायरामा ल्याउनेछौ’, उनले भने,‘नियम कानुन सानो ठूलो कसैलाई भनिन्न सबैका लागि बराबर हुन्छ।’
यसअघि महानगरले सडकपेटी ढाकेर अव्यवस्थित रूमा निर्माण सामाग्री राख्नेलाई कारबाहीको दायरामा ल्याएको थियो।
यस्तै सडक पेटी ढाकेर निर्माण सामाग्री, पसल, टहरा राख्नेलाईसमेत हटाएर सुन्दर सफा नगर बनाउन नगर प्रहरी लागिपरेको छ।
यस्तै ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाइसकेको छ।
महानगर भित्रको सवारी चापलाई व्यवस्थित गर्न विभिन्न ठाउँमा वान वे समेत बनाइसकेका उनले अब लडाउन खुलेपछि पनि पहिलेको जस्तो ट्राफिक चाप नहुने बताउँछन्।
‘हामीले ललितपुर महानगर भित्रका पाटनढोका, महापाल अगाडि लगायतका ठाउँमा वान वे बनाएर सवारी चाप न्यूनिकरणको अभ्यास गरिसकेका छौं’, उनले भने,‘पुरातात्विक ललितपुर महानगरपालिकालाई देशकै सुन्दर र नमूना महानगरपालिका बनाउने सोचमा छु, नगर प्रहरीलाई पनि नेपालको एक नम्बर नगर प्रहरी बनाउँछु।’
ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई चौबीसै घण्टा परिचालन गर्न थालेको छ। २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो। स्थापनाको २३ वर्षपछि दसैंबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।
नगर प्रहरीले हटलाइन सेवा पनि शुरू गरेको छ। पुल्चोकस्थित दमकल रहेकै भवनमा रहेको कार्यालयमा कन्ट्रोल रुम खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ। सो नम्बरमा सूचना आएको १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी संरचना तयार गरिएको हाछेथुले बताए।
पुल्चोकस्थित दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ । सो भवनको ब्यारेकमा ७८ जना नगर प्रहरीलाई बस्ने व्यवस्था मिलाइएको छ ।
महानगरका स्थानीयले कन्ट्रोल रुपमा फोन गरेपछि रातको समयमा १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी गाडी र रिजर्भ फौज तयारी अवस्थामा राख्न थालिएको छ । रातको समयमा हुने अनुमति बिनाका निर्माण कार्य, होर्डिङ बोर्ड र पोष्ट टाँस्ने काम रोक्न पनि नगर प्रहरी परिचालन प्रभावकारी हुने महानगरको निष्कर्ष छ ।
नगर क्षेत्र भित्र साँझ १० बजेसम्म नियमित ड्युटी गर्ने नगर प्रहरीले नगरवासीलाई ठूला पर्वमा बजार क्षेत्रमा किनमेल गर्ने सहज होस् भनि ग्राहक र व्यापारीलाई पनि सहजीकरण गर्न यस्तो योजना लागू गरेको जनाएको छ। रातको सयममा पनि जात्रा चल्ने हुनाले २४ सैं घण्टा नगर प्रहरी परिचालन गर्दा सुरक्षामा पनि सहयोग पुग्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए।