चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले नेसनल मेडिकल कलेज वीरगन्जले विद्यार्थी रामजी राम र पंकजकुमार रामको परीक्षा रोकेकोमा आपत्ति जनाएका छन्।
उनले अवैध तरिकाले रकम असुलीका लागि विद्यार्थीलाई यो व्यवहार गर्ने कलेजमाथि कागजी कारबाही मात्र गर्ने लाजमर्दो परिस्थिति अन्त्य गर्न माग गरेका छन्।
‘मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरूमध्ये एक बसरूद्दिन अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज सञ्चालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन,’ केसीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
नियामक निकायलाई नेटेर्ने र अवैध असुली गर्ने कलेजहरूको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरूले खाली कागजी निर्णय मात्रै गर्ने, तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त्य गर्न उनले ध्यानाकर्षण गराएका छन्।
केसीले भोलिदेखि दुबै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन, नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरूको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन्।
उनले अबैध असुलीमा संलग्न कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।