७० वर्षीय पूर्वस्थानीय विकास राज्यमन्त्री महेश चौधरी अचेल घोराहीको बेलभार गाउँको एउटा एकान्त डाँडोमा बस्छन्।
घोराहीको पक्की घर भाडामा लगाएर उनी यो ठाउँमा बस्न थालेको ६/७ वर्ष भयो।
सानो दुई कोठे घरमा छोरा-बुहारीसहित उनको परिवारै छ। वरिपरि दुई बिगाहा जग्गा छ।
लिजमा लिएको त्यो जग्गामा उनी प्राङ्गारिक मल उत्पादन गर्छन्।
एउटा चौरमा बिस्कुनजस्तै प्राङ्गारिक मल सुकाइएको थियो। यो मल त्यहीँ रहेको एउटा उद्योगबाट निस्किएको हो।
पूर्वराज्यमन्त्री चौधरी ती मलका दाना सुकाउन व्यस्त थिए।
मल बनाउन आवश्यक कच्चा पदार्थ त्रिपालले छोपेर राखिएको थियो। केही दिन त्रिपालले छोपेर राखेपछि त्यो कुहिन थाल्छ। अनि त्यसलाई उद्योगमा राखेर मल तयार पारिन्छ। उत्पादित र तयारी मल बोराहरूमा प्याक गरेर राखिएको छ।
चौधरीले हामीलाई मल उत्पादनबारे धेरै कुरा सुनाए।
बनमारा, असुरो, खरानीजस्ता आवश्यक कच्चा पदार्थ उनले आसपासबाटै ल्याउने गरेका रहेछन्।
गाई भैंसीको गोठे मल, कुखुरा, बाख्रा , परेवाको सुली व्यावसायिक फार्महरूबाट किनेर ल्याउने गरेको उनले बताए।
आफू बसेको ठाउँ वरिपरिको जग्गा उनले प्राङ्गारिक मल उत्पादका लागि लिजमा लिएका रहेछन्।
धेरै समय राजनीति र प्राध्यापनमा बिताएका चौधरीलाई केही नगरी बस्नै मन लाग्दैन। त्यसमाथि माटोको मायाले उनी हुरूक्कै हुन्छन्।
त्यही माटोको मायाले उनी यो सुनसान ठाउँमा आएर बसेका छन्। उनको जन्मघर भने दंगीशरण गाउँपालिका -४ बैबाङ हो। उनी त्यहाँका जमिनदारै हुन्।
उ जमानामा उनी अंग्रेजी साहित्यका विद्यार्थी थिए। घोराहीकै महेन्द्र बहुमुखी क्याम्पसबाट आइए उत्तिर्ण गरेपछि काठमाडौंको पाटन क्याम्पसबाट अर्थशास्त्र र भूगोलबाट स्नातक गरे। अनि त्रिभुवन विश्वविद्यालयबाट भूगोलमा एमए।
पढाइपछि उनी पढाउनतिर लागे। काठमाडौंको शिवशान्ति विद्यालयमा हेडमास्टर हुँदै महेन्द्र बहुमुखी क्याम्पसको भूगोल डिपार्टमेन्टको चिफसम्म भए।
२०३५ सालदेखि क्याम्पस पढाउन थालेका उनले झन्डै ७ वर्ष पढाए। उनले प्राध्यापनसँगै पूर्वनेकपा एमालेमा पनि लागेका थिए।
पार्टीले उनलाई प्राध्यापन पेशाबाट राजीनामा गर्न लगायो।
२०४८ सालमा उनलाई राष्ट्रिय सभामा लग्यो। ६ वर्ष राष्ट्रिय सभामा काम गरे। २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भए। पार्टीले उनलाई २०६४ / २०६५ मा पनि २६ जनामा फेरि मनोनित गरेर संविधान सभा सदस्य बनायो। त्यसको कार्यकाल सकिएपछि भने उनले सक्रिय राजनीति गरेनन्। बरू कृषि अनुसन्धानमा लागे।
उनी राजनीति र प्राध्यापन मात्र गर्दैनथे। दाङमा २०४३/०४४ सालबाटै व्यावसायिक रूपमा कुखुरा पाल्न थालेका थिए।
मासु, अण्डा, मल र मानिसहरूलाई ठूलो रोजगारी सृजना गर्न सकिन्छ भनेर आफूले त्यतिखेर व्यवसायिक कुखुरापालन सुरू गरेको उनले बताए।
माओवादी सशस्त्र द्वन्द्वमा लागेको संकटकालपछि उनको व्यवसाय संकटमा पर्दै गयो।
२०५८ साल मंसिर ८ गते माओवादीले घोराहीमा सेनाको ब्यारेकमा आक्रमण गरेपछि उनको कुखुरा फार्म पनि बन्द भयो।
‘रातिमा रेखदेख गर्नपनि पाइएन। दानापानी दिन पनि पाइएन। धेरै कुखुरा मरे,’ चौधरीले सम्झिए, ‘त्यो समयमा मैले ठूलो आर्थिक क्षति बेहोर्नु पर्यो।’
त्यसपछि उनी पुरै राजनीतिमा होमिए। २०६९ सालमा संविधान सभा सदस्यको पदावधि सकिएपछि उनी दाङ फर्किए।
त्यसपछि हो उनले प्राङ्गारिक मलको उत्पादन थालेको। अहिले सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र खोलेका छन्।
यो मल उत्पादन केन्द्र उनले त्यसै खोलेका होइनन्, नेपालका कृषि विज्ञहरूलाई गलत सावित गर्नु जो छ।
प्राङ्गारिक मल बनाउन कृषि विज्ञहरूले बनाएको मापदण्ड सही नभएको उनको तर्क छ।
‘विज्ञहरूले प्राङगारिक मल बनाउन १५ प्रतिशत नाइट्रोजन, ५ प्रतिशत फोस्फरस र १.५ प्रतिशत पोटास चाहिन्छ भन्छन्,’ चौधरीले भने ‘यो फर्मुला सर्वथा गलत छ। त्यही हुनाले अर्ग्यानिक मल फस्टाउन सकेको छैन।’
त्यस्तो मापदण्डअनुसार त प्राङगारिक मल उत्पादन गर्नै नसकिने उनको भनाइ छ।
'बजारमा किन्न पाइने रासायनिक मलमध्ये युरियामा ४६ प्रतिशत र डिएपीमा १८ प्रतिशत गरी ६४ प्रतिशत नाइट्रोजन प्रयोग गरेको ठाउँमा कसरी प्राङ्गारिक मलको १५ प्रतिशत नाइट्रोजनले काम गर्छ?,' उनले प्रश्न गरे।
त्यस्तै डिएपीमा ४६ प्रतिशत फोस्फरस प्रयोग गरेको ठाउँमा विज्ञहरूले जम्मा ५ प्रतिशत फोस्फरस प्राङ्गारिक मलमा चाहिन्छ भन्ने गरेकोमा उनको चित्तै बुझेको छैन।
कृषि विज्ञले तयार पारेको फर्मुलाले त प्राङ्गारिक मल रासायनिक मलसँग प्रतिस्पर्धा गर्नै नसक्ने उनले बताए। अहिले किसानले प्राङ्गारिक मल किन्न इच्छा नदेखाउने कारण पनि त्यही भएको उनको तर्क छ।
‘कि एक कठ्ठा खेतबारीमा २-३ क्विन्टल मल हाल्नु पर्यो,’ चौधरीले भने, ‘यसरी प्राङ्गारिक मल नेपालमा फेल भइराख्या छन्।’
रसायनिक मलको अधिक प्रयोगले जग्गाको उत्पादन क्षमतामा ह्रास आएको, जग्गा सुख्खा बनाउँदै लगेको, डल्ला पार्दै गएको र माटो अम्लीय हुँदै गएकोमा उनको चिन्ता छ।
‘अम्लीय माटोले बिरूवालाई जुन पोषण तत्व दिनु पर्ने हो, त्यो दिन सक्दैन अनि वर्षेनी मलको मात्रा बढाउँदै लैजाउनु परेको छ,’ चौधरीले भने।
उनको चिन्ता कृषिप्रधान देश मलकै विदेशमा भर पर्नु पर्ने अवस्थामा पनि छ। प्राङ्गारिक मल उद्योग खोलेर माटो सुधार्न अति जरूरी रहेको उनलाई लागेको छ।
आफूहरूले उत्पादन गरेको मलमा टाइक्रोडर्मा (मित्र ढुसी) प्रयोग गरेको हुँदा त्यसले माटोमा बढ्दै गएको शत्रु ढुसीलाई नास गर्ने दाबी चौधरीको छ। शत्रु ढुसीले बिरूवाको जरा काट्ने, डाँठ काट्ने, फूल तथा फल कुहिनेजस्ता समस्या निम्त्याउने उनले बताए।
नियमित दुई बालीमा प्राङ्गारिक मलमात्रै प्रयोग गरे, त्यसले माटोमा जैविक गतिविधि सुरू हुने, माटोमा रसिलोपना आउने, पानी सोस्न सक्ने क्षमता बढ्ने चौधरीको विश्वास छ।
६ वर्षदेखि मल उत्पादन गर्दै आएको भए पनि केही समय अघिमात्रै आफूले निर्माण गरेको फर्मुला सफल भएको उनी बताउँछन्।
फर्मुला सफल भएको हुँदा आगामी माघदेखि उनले श्रमिक थपेर उत्पादन गुणात्मक रूपमा बढाउन थालेको जानकारी दिए।
‘अब यहाँबाट ट्रकका ट्रक मल बाहिरी जिल्लामा पठाउने तयारी गरेका छौं,’ उनले भने ‘कम्तिमा पनि वर्षमा दुई सय बढी ट्रक मल बाहिरी जिल्लामा पठाउने सोच बनाएको छु।’
अहिलेसम्म उद्योगले अपेक्षाअनुसार उत्पादन गर्न नसकेको उनले स्वीकार गरे।
‘हामीहरू निर्माणकै चरणमा भयौं,’ चौधरीले भने, ‘कहिले औजार बनायौं र कहिले मलको फर्मुला बनाउँदा समय लाग्यो। तर, अब सबै फर्मुला तयार भइसक्यो। अब उत्पादनले गति लिन्छ।’
चौधरीले उत्पादन गरेको प्राङगारिक मल बिक्रीले गति लिन थालेको छ।
बर्दियाको बारबर्दिया नगरपालिका-१० बैदीका किसान दयाराम खड्काले चौधरीको कम्पनीबाटै प्राङ्गारिक मल लगेर खेतबारीमा प्रयोग गर्न थालेको ५ वर्ष भयो।
उनले यो वर्ष तीन बिगाहा क्षेत्रफलको धान खेतीमा सोही मल प्रयोग गरेको र राम्रो उत्पादन लिएको बताए।
‘मैले धान, गहुँ, मकै र तरकारीमा जम्मै जैविक मल नै प्रयोग गर्दै आएको छु,’ उनले भने, ‘मल एकदमै राम्रो छ। सिँचाइ सुविधा नभएको ठाउँमा त्यो मल त्यति राम्रोसँग नलाग्दो रहेछ।’
सिँचाइ सुविधा नहुने हिउँदे बाली तोरी, गहुँमा मल कम लाग्ने गरेको उनले बताए।
‘सिँचाइ सुविधा भए पानीले बोट बिरूवाका जरासम्म मल लैजाने रहेछ नत्र पानी नभएर त्यो बोट बिरूवाको जरासम्म पुग्दो रहेनछ,’ खड्काले भने।
दाङको घोराही उपमहानगरपालिका-६ गुरूवागाउँका सूर्यबहादुर घर्तीले पनि ४ वर्षदेखि चौधरीले उत्पादन गरेको प्राङ्गारिक मल आफ्नो खेतबारीमा प्रयोग गर्दै आएका छन्।
उनले सुरूमा आफ्नो १ कठ्ठा जमिनमा परीक्षणको रूपमा प्राङ्गारिक मल प्रयोग गरेपछि राम्रो लागेर बढाउँदै लगेर हाल डेढ बिगाहा क्षेत्रफलमा पूरै त्यही मल प्रयोग गर्दै आएका छन्।
‘म धान, मकै, गहुँलगायत तरकारी खेती सबैमा त्यही मल प्रयोग गर्दै आएको छु,’ पुनले भने ‘मल राम्रो छ, उत्पादन पनि राम्रो भइरहेको छ।’
उनका अनुसार मल अलिक महङ्गो भने छ।
‘मैले चौधरीको उद्योगबाट सुरूबाटै मल किन्दै आएको छु। तर, एकै पटक पाँच हजार मूल्य पुर्याउँदा किसान मर्कामा परेका छन्,’ पुनले भने।
पूर्वराज्यमन्त्री चौधरीले उत्पादन गरेको मल घोराही- १७ का वडाध्यक्ष खुसीराम चौधरीले आफ्नो एग्रोभेटबाट बेच्ने गर्छन्।
आफूले एग्रोभेटमा एक केजी मलको प्याकेट एक सय रुपैयाँ र ५ किलो ६० रुपैयाँ किलोको दरले बिक्री गर्ने गरेको वडाध्यक्षका चौधरीले बताए।
‘प्राय: अर्ग्यानिक तरकारी खेती गर्नेहरूले प्राङ्गारिक मल किनेरे लैजान्छन्,’ वडाध्यक्ष चौधरीले भने, ‘हालसम्म कोही पनि ग्राहक मल नराम्रो भयो वा लागेन भनेर हामी कहाँ गुनासो गर्न आएको छैन।’
दाङमै पनि अर्ग्यानिक खेती गर्ने किसान प्राङ्गारिक मल खोज्दै आउने गरेका छन्। यसरी चौधरीको मल उत्पादनले बजार लिँदै छ। उनी पनि मख्ख छन्।
मल कारखानाबाट बचेको समय चौधरी साहित्य लेखनमा बिताउँछन्।
७० वर्ष पुगेका उनी अचेल थारू भाषामा महाकाव्य लेखिरहेका छन्।
‘चार सर लेखिसकेको छु र यसलाई अब लगभग १२ सर पुगाउने छु,’ चौधरीले भने।
उनले थारू भाषाका व्याकरण, गीति नाटक, थारु लोकसाहित्यमा गुरूबाबा, माघर, झुम्रा, बर्की नाचबारे पनि किताब लेखेका छन्।
उनले नेपाली भाषामा लेखेको ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ नामक किताब चर्चित छ।
उनका ‘हिडेन ट्रेजर्स अफ द लो ल्याण्ड नेपाल’ भाग १ र भाग २ पनि प्रकाशित छन्।