जनकपुरधामबाट उडान गर्ने श्री एयरलायन्सले अन्तिम समयमा आएर उडान रद्द गर्दा दर्जनौँ यात्री जनकपुरधाम विमानस्थलमा अलपत्र परेका छन्।
एयरलायन्सले आईतबार साँझ ५ बजे गर्ने उडान अन्तिम समयमा आएर रद्द गर्दा ४० जना भन्दा बढी हवाई यात्रु अलपत्र परेका हुन्। साँझ ५ बजेको उडानका लागि दिउँसो १ बजेदेखि नै विमानस्थल आईपुगे पनि एयरलायन्सले तोकिएको समयभन्दा करिब डेढ घण्टा पछि मात्रै उडान रद्द भएको जानकारी गराएको यात्री प्रकाश पोखरेलले सेतोपाटीलाई बताए।
‘यहाँ म लगायत दर्जनौँ यात्री अलपत्र अवस्थामा बसिरहेका छौँ, त्यसमा महिला यात्रुहरु पनि हुनुहुन्छ,’ उनले भने, ‘आज उडान नहुने कुरा सुरूमै जानकारी गराईदिएको भए हामीले अर्को फ्लाईट वा कुनै अरु विकल्प रोज्थ्यौँ होला। तर दिउँसो १ बजेदेखि बसेका यात्रु्लाई उडान गर्ने समयभन्दा करिब डेढ घण्टा ढिलो अर्थात् साढे ६ बजेतिर मात्रै जानकारी गराईयो उडान रद्द भयो भनेर, यो सरासर गलत हो, लापरवाही हो।’
सुविधाका लागि उडान रोजे पनि सुविधाभन्दा पनि आफूहरूलाई द्विविधामा पारिदिएको यात्रीहरुको भनाई छ।
‘भोलि कार्यालय पुग्ने गरी आजका लागि मात्रै बिदा लिएकी थिएँ, अब यति रातिसम्म कुराएर उडान हुन्न भएर भन्नु लापरबाहीको पराकाष्ठा भएको लहानबाट उडान भर्न आईपुगेकी एक जना महिलाले भनिन्, ‘अब कहाँ बस्नु, के गर्नु भएको छ।’
यसबारे श्री एयरलायन्सका स्टेशन म्यानेजर लोकेन्द्र प्रसाद मण्डल भिजिविलिटी राम्रो नभएकैले आफूहरूले साँझको उडान रद्द गर्नुपरेको बताउँछन्।
‘हाम्रो जहाज काठमाडौंमा रेडी थियो,’ उनले भने, ‘पछि माथिबाट फोन आयो यहाँ भिजिविलिटी एकदमै कम रहेको देखिन्छ रिस्क लिन सकिँदैन, यात्रुको ज्यानसँग त खेलबाड गर्नुभएन नि।’
मण्डलका अनुसार आज उडान गर्न नपाएका यात्रुले भोलि साँझ ५ बजेकै फ्लाईटबाट उडान गर्न पाउनेछन्।
अन्तिम समयमा आएर एयरलायन्सले उडान रद्द गरेको कुराबारे धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलालाई सोध्दा उनले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिए।
‘मैले पनि सुनेको हुँ तर औपचारिक रुपमा जानकारी प्राप्त भएको छैन्,’ उनले भने, ‘बुझेर भनौँला।’