नेपाल प्रहरीका नौ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।
गत पुस २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका नौं जनाले दर्ज्यानी चिन्ह पाएका हुन्।
बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यको डिआइजीमा बढुवा भएका हुन्।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार सचिवालयमा प्रकाश अधिकारी, योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्दराज आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरा, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा उमेश रञ्जितकार र साइबर ब्युरोमा रामकृपाल शाहको पदस्थापन भएको हो।
त्यसैगरी प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐर, प्रबन्ध निर्देशनालयमा पुरूषोत्तम कंडेल, कार्य निर्देशनालयमा राजेशकुमार लाल कर्ण र दिवेश लोहनीको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन भएको एसएसपी कुँवरले बताए।