ललितपुर महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई ट्राफिक व्यवास्थापनबारे तालिम दिने भएको छ।
नगरको सवारी व्यवास्थापनमा ट्राफिक प्रहरीलाई सघाउने भन्दै महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई तालिम दिन लागेको हो।
ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै नगर प्रमुख चिरीबाबु महर्जनले आफ्नो नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना प्रहरीलाई तालिम दिन लागेको जानकारी दिए।
‘महानगरले गर्ने महत्वपूर्ण काममध्ये ट्राफिक व्यवस्थापन र सवारी पार्किङ पनि एक हो, पछिल्लो समय नगरमा बढेको सवारी चाप र दुर्घटना हेर्दा ट्राफिक प्रहरीको दरबन्दी कम देखन्छ’, नगर प्रमुख महर्जनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभइ सडक विभाग यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो। त्यसैले ट्राफिक प्रहरीलाई सघाउ पुर्याउन हाम्रा नगर प्रहरीलाई तालिम दिन लागेका हौ।’
उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईसँग समन्वय गरेर २ जना ट्राफिक प्रशीक्षकले एक सातासम्म नगरप्रहरीलाई ट्राफिक तालिम दिने जानकारी दिए।
हाल जोर विजोर हटेसँगै सवारी चाप र दुर्घटना बढेको भन्दै यसलाई न्यूनिकरण गर्दै सवारी व्यवस्थापनमा केही हदसम्म भए पनि नगरप्रहरीले ट्राफिक प्रहरीलाई सघाउर् पुर्याउनका लागि तालिम दिन लागिएको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले बताए।
‘सडकले नै थेग्न नसक्ने गरी सवारी साधन र मानिसको घुइँचोले ट्राफिक समस्या दिन प्रतिदिन बढिरहेको छ। नगरवासी तथा नगर भएर आवतजावत गर्ने सबै सडक प्रयोगकर्तालाई दुर्घटना हुन नदिई समयमै शकुसल गन्तब्यमा पुर्याउने उद्देश्यले ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अगडि बढ्ने निर्णय गरेका हौ’, हाथेछुले सेतोपाटीसँग भने।
सडकको सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न समयमा स्कुल, कलेजका विद्यार्थी तथा अन्य स्यमंसेवक परिचालन गरि ट्राफिक व्यवस्थापन गर्दै आएको छ।
स्वयं सेवकले गर्ने सहयोग अस्थायी हो। उनीहरूलाई जिम्मेवारबोध पनि नहुने र पैसा पनि नपाइने भएकाले उनीहरूको गल्ती क्षम्य हुन्छ तर तालिमप्राप्त नगर प्रहरी भएमा अरू स्वयंसेवकभन्दा उत्कृष्ट काम गर्न सक्छ भनेर तालिमको दिन लागिएको उनले जानकारी दिए।
यसरी चोक चोकमा ड्युटीमा खटिँदा नगर प्रहरीमा आत्मबल बढ्ने, क्षमता अभिवृद्धि हुने र ट्राफिक प्रहरीजस्तै एक्लै निर्भिक र निष्पक्ष भएर कार्य गर्न सक्ने अभ्यास हुने उनको भनाइ छ । नगर प्रहरीलाई ट्राफिक जाम, विशिष्ट व्यक्तिको सवारी, जात्रा लगायतका अवसरमा ड्युटी गर्न सक्ने बनाउन पनि यस्तो भूमिका प्रभावकारी हुने उनले बताए ।
उनले ट्राफिक प्रहरीको जनशक्ति कम भएकाले गल्ली गल्ली र चोक चोकमा बढेको सवारी नियन्त्रणका लागि ट्राफिक प्रहरीको ड्यूटी राख्न नसकिएको भन्दै त्यस्ता ठाउँमा नगरप्रहरीले परिपूर्ति गरिने जानकारी दिए।
उनले अब महानगरभित्र कुनै पनि स्थानमा भएको सवारी जाम हटाउन ट्राफिक प्रहरीसँगै नगरप्रहरी पनि तयार हुने उनले दाबी गरे।
‘अब ट्राफिक जाम भयो भने ट्राफिक प्रहरीलाई मात्र नभनीकन नगर प्रहरीलाई पनि कल गर्नुभयो भने हामी ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरीसँग तत्काल समन्वय गरेर सडक जामरहित बनाउनेछौ’, उनले भने नगरप्रहरीले ट्राफिक प्रहरीसँग सदैव हातेमालो गरेर जनताको सेवामा हाजिर हुनेछ।’
ट्राफिक प्रहरी नपुगेको ठाउँमा नगर प्ररहीले पनि सवारी व्यवस्थापन गर्न सकोस् भनेर तालिम दिन लागेको हाथेछुले दोहोर्याए।
‘नगर प्रहरीको काम फुटपाथको पसल हटाउने मात्र होइन सवारी व्यवस्थापन चुस्त दुरूस्त राखेर नगरलाई व्यवस्थित र सुरक्षित बनाउने दायित्व पनि हो’, उनले भने,‘यसका लागि नगर प्रहरी सधै ट्राफिक प्रहरीको साथमा छ।’
‘बरु नगरवासीलाई महानगरपालिकासँग सम्बन्धित कुनै समस्या छ, वा नगर प्रहरीको सहयोग चाहिएको छ भने हामी त्यसका लागि तत्पर भएर उहाँहरुको सेवामा खटिने छौँ,’ उनले भने, ‘किनकि नगर प्रहरी भनेको महानगरवासीले नै तिरेको करबाट तलब–सुविधा लिएर उहाँहरुकै सुविधाका लागि परिचालित हुने संगठन हो भन्ने सन्देश हामीले दिनुपर्छ ।’
महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइसकेको छ। नगर प्रहरीले साइकलबाट गस्तीगर्न समेत शुरु गरिसकेका छन्।
गस्तीले ललितपुरका हरेक गल्ली र बाटोमा जनताको सेवाका लागि नगर प्रहरी पुग्न सकुन् भनेर महानगरले साइकल गस्ती शुरुवात गरेको महानगरले जनाएको छ।
ललितपुरको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साइकल गस्तीको मद्दतले नगरबासीमा तुरुन्त सहयोग गर्न मद्दत पुर्याउने आशा व्यक्त गरेका छन्।
हाछेथुका अनुसार साइकल गस्ती गर्ने नगर प्रहरीहरुलाई क्यामरा पनि दिइएको छ। क्यामराको मद्दतले उनीहरुलाई समस्या र बेथिति भएका स्थानहरुको फोटो खिचेर रिपोर्टिङ गर्न पनि सहज हुने उनले बताए।
यसअघि नगरप्रहरीले ललितपुर महानगरपालिकामा फुटपाथ खाली गराउने अभियान सञ्चालन भएको थियो।
ललितपुर महानगर अन्तर्गतको नगर प्रहरीले पैदलयात्रुलाई हिँड्न सजिलो होस् र यात्राका क्रममा समेत भौतिक दूरी कायम राख्न सहज होस् भनेर फुटपाथलाई खाली गराउने अभियान सञ्चालन गरेको थियो।
अवकाशप्राप्त ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नगर क्षेत्रभित्र पैदलयात्रीलाई सहज होस् भन्ने उद्देश्यले फुटपाथ ‘क्लियर’ गराउने अभियान अघि सारेका थिए।
हाछेथुले ललितपुर महानगरभित्र फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारिक सामान हटाउन लगाउने, नियमविपरीतका होर्डिङ बोर्ड हटाउनेजस्ता काम सुरु गरे।
जिम्मेवारी सम्हालेको छोटो समयमै उनले कुपण्डोलदेखि कुमारीपाटीसम्मको फुटपाथलाई क्लियर बनाएका छन्। उक्त सडकखण्डको फुटपाथ हाल अतिक्रमण मुक्त भएको छ।
ललिपुर महानगरभित्र धेरै काम गर्नुपर्ने भएकाले उनले कामलाई बर्गिकरण गर्दै प्राथमिकताका आधारमा क्रमशः गर्दै जाने योजना बनाएका छन्।
‘अब नगरभित्रका सहरी व्यवस्था सम्बद्ध साना-साना समस्यामा नगर प्रहरी आफैं खटिन्छ,’ उनले भने,’सडकमा खाल्डो परे सडक विभागसँग हामी नै समन्वय गर्छौं, पोल ढल्न लागे प्राधिरकणलाई हामी नै जानकारी दिएर बनाउँछौं, सवारी जाम भए हामी नै समाधान गर्छौं, नगरिकले नगरप्रहरीसँग सहकार्य गर्न सक्ने वातावरण बनाउँछौं।’
‘तपाईँको छिमेकमा ढल फुट्यो, सडकमा खाल्डो पर्यो भने हामीलाई भन्नुस्, सडक जाम भयो भने पनि हामीलाई भन्नुहोस् १५ मिनेट भित्र हामी त्यहाँ पुग्छौं’, उनले भने, ‘समस्या लिएर आउनुस् हामी समाधान गरेर पठाउँछौं।’