प्रहरीले भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्लाहीका सोलेकुमार भन्ने दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।
उनीमाथि भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रहेको आरोप छ। बुढाथोकीको समूहले रावललाई २०६५ सालमा अपहरण गरेको सिआइबीले जनाएको छ।
अपहरणपछि फरार रहेका बुढाथोकी मंगलबार भारत-नेपाल सीमाबाट पक्राउ गरेको सिआइबीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापाले जानकारी दिए।
उनीहरूले रावललाई अपहरण गरी एक करोड ५० लाख रुपैयाँ लिएका थिए।
'उनी रावलको अपहरण गरेर फरार भएका हुन्। उनी कारागारमा रहेका १८-१९ वटा अपहरण गर्ने उदय सेट्टी र अमर टण्डनकै समूहका मान्छे हुन्। उनीहरू दुबै जना जेलमै छन्,'डिआइजी थापाले भने,'अरू पनि हामीले अनुसन्धान गरिरहेका छौं।'
उनका अनुसार अपहरण गर्ने समूहका पाँच जना जेलमा छन्। त्यस घटनामा अहिलेसम्म ६ जना संलग्न रहेको बुझिएको छ। पाँच जना पहिले नै पक्राउ परिसकेका थिए।
बुढाथोकीले ६०/६१ सालमा महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट हिरासत तोडेर भागेको डिआइजी थापाले बताए।
प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याइसकेको छ।
उनीमाथि थप अनुसन्धान गर्न म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ।