बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बुधबार दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताइन्।
यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आशिंक बदली हुने र बाँकी ठाउँको मौसम सफा रहने उनको भनाइ छ । मौसम बदली भए पनि तत्काल पानी पार्ने र उच्च हिमपात भने कतै पनि नहुने मौसमविद्को अनुमान छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस १५ गते (बुधबार)
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राति : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस १६ गते (बिहीबार)
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस १७ गते (शुक्रबार)
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।