विराटनगर महानगरपालिकाले उत्तरी प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको छ। खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गर्दै उनीहरूले तयार पारेको डिजाइन फाइनल गरेको हो।
विराटनगरको पहिचान दिने गरि महानगरपालिकाले नयाँ प्रवेशद्वारको डिजाइन माग गरेकोमा विभिन्न १४ कम्पनीले पेश गरेका थिए।
साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनुपर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाईन मागेको थियो।
सडकको चौडाई (लेन) विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनुपर्ने अवस्था आएको हो। विस्तारित ६ लेनको सडक अनुसार स्वागतद्वार निर्माणका लागि डिजाइन तयार गरेर बोलपत्र गर्ने तयारीमा पुगिएको महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिए।
यो सँगै २५ मिटर सडक क्षेत्र भित्र पर्नेगरि गेट निर्माण हुने भएको छ। साढे २ करोड लागतमा चालु आर्थिक वर्ष भित्रै काम अगाडि बढाउने थापाले जानकारी दिए।
डिजाइन अनुसार नयाँ गेटको माथिल्लो भागबाट अवलोकन गर्न सकिने ठाउँ गेटमै राखिने भएको छ ।