लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन्।
पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन्। भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन्। अर्काेपटक पनि गर्भको शिशु छोरी भएको थाहा पाएपछि तुहाउन विवश भइन्। किनकी उनका श्रीमान र परिवारलाई छोरा चाहिएको थियो।
पाँचौ पटकमा भने जाँच गर्दा पेटमा छोरा रहेको रिपोर्ट पाइन्। छोराप्रति अति मोह रहेको परिवारमा केही हप्ता, महिना एकखालको खुसी छायो।
तर सायद जाँचको प्राविधिक त्रुटि थियो होला, छोरी जन्मिइन्।
'परिवारका सदस्य प्रायः अस्पतालमै थिए। छोरी जन्मेको थाहा पाएपछि जिब्रो टोके। श्रीमान त मसँग बोल्दा पनि बोल्नुभएन। सुत्केरी व्यथा त छँदैछ, त्यसमाथि छोरी जन्माउनु पर्दाको पीडा थपियो। छोरीप्रतिको परिवारको दृष्टिकोणले मलाई थप पीडा दियो,' ती महिलाले दुःखेसो पोखिन्।
नचाहँदा नचाहँदै पनि छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिक रूपमा धेरै पीडा सहनुपर्यो।
'न जेठी छोरीले माया र सम्मान पाएकी छ। न छोरा भनेर जन्माइएकी छोरीले। परिवारमा उनीहरूको हैसियत देख्दा निकै पीडा हुन्छ,' उनले भनिन्।
लिंग छनोट गरी गैरकानुनी तरिकाले पटकपटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ। उनले भनिन्, 'अवसर पाए छोरीले पनि सबै काम गर्न सक्छन् भन्ने थाहा नभएको होइन। तर पारिवारिक दबाबका कारण तीनपटक गर्भपतन गराउन बाध्य भएँ।'
गर्भपतनकै कारण उनको तल्लो पेट दुखिरहन्छ। दुब्लाएकी छन्। मानसिक तनाव भइरहन्छ। टाउको दुख्छ, रिंगटा पनि लाग्छ।
ती महिलाले १२ कक्षा र उनका श्रीमानले स्नातक अध्ययन गरेका छन्। परिवारका अन्य सदस्य पनि शिक्षित नै छन्। तर छोराछोरीप्रति समान बुझाइ भने कसैको छैन।
तिलोत्तमा नगरपालिकाको शंकरनगर बस्ने अर्की एक महिलाले पनि छोराको चाहनामा गर्भपतन गराइन्। पहिलो सन्तान छोरी भएका कारण छोरा जन्माउने चाहनामा उनले लिंग छनोट गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गरिन्।
'मेरा श्रीमान घरको एउटै छोरा हुनुहुन्छ। त्यही भएर वंश चलाउन हामीलाई छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब दिनुभयो। स्नातकोत्तर पढेको भए श्रीमानलाई सम्झाउन सकिनँ,' ती महिलाले भनिन्, 'श्रीमानले साथ दिएको भए गर्भपतन गराउन मन थिएन। तर उहाँको पनि चाहना छोरा नै हो।'
पेसाले व्यवसायी उनका श्रीमानमा छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ।
यी दुई महिलाजस्तै छोराको चाहनामा विभेदपूर्ण लिंग छनोट गर्ने संख्या पछिल्लो समय बढ्दै छ। पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउँछन्। शिक्षित परिवारमै पनि लैंगिक विभेद कायमै छ। उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिंग परीक्षण गराएको पाइएको छ।
स्त्री रोग विशेषज्ञ डा सदीक्षा चापागाईंका अनुसार रोग निदान र उपचारमा सहयोगी सिद्ध प्रविधि र उपकरण हो– अल्ट्रासाउन्ड। गर्भवतीको परीक्षणबाहेक गर्भाशयमा रहेको शिशुको अवस्था, सम्भावित खतरा र शिशुमा देखिन सक्ने वंशाणुगत गडबडीको परीक्षण गर्न र अन्य रोगको पहिचानका लागि यसको प्रयोग हुन्छ।
शिशुको अवस्था पत्ता लगाउन यसको प्रयोग अनिवार्य जस्तै छ। गर्भधारणको निश्चित अवधिपछि अल्ट्रासाउन्डमार्फत भ्रूणको लिंग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानूनी गर्भपतन गराउनेको हतियार पनि बनेको छ।
सेवाग्राहीको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले लिंग पहिचान गरी गैरकानुनी गर्भपतन गराइदिनेहरू पनि दिनानुदिन बढ्दै छन्। त्यस्ता स्वास्थ्यकर्मी र मेडिकल अनुगमन र कारबाही नहुँदा गलत काम गर्नेले प्रश्रय पाएको पनि डा चापागाईंको बुझाइ छ।
छोरालाई बढी प्राथमिकता दिने पराम्परागत संस्कारले गर्दा लैंगिक विभेद बढावा दिएको छ। यसले गर्दा छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिंग अनुपात असन्तुलन बढेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको तथ्यांक हेर्ने हो भने पनि पछिल्लो वर्षमा महिला शिशुभन्दा जन्मिने संख्या पुरुष शिशुको बढी छ। आर्थिक वर्ष ०७६/०७७ मा लुम्बिनी प्रादेशिक अस्पतालमा जन्मिएका ११ हजार ३७७ शिशुमध्ये पुरुष ५९८५ र महिला ५१९३ थिए। जसमा १९९ शिशुको मृत्यु भएको थियो।
जबकी दुई वर्षअघि ०७४/०७५ मा अस्पतालमा जन्मिएका १०१३६ शिशुमध्ये महिला ५३५७ थिए भने पुरुष ४७३१। अस्पतालमा १७४ शिशुको भने मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड शाखाका पंकज पटेलले जानकारी दिए।
संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष (युएनएफपिए) का अनुसार नेपालमा सन् २००५ मा १०० नवजात महिला शिशु जन्ममध्ये १०३ नवजात पुरुष शिशु थिए। सन् २०१५ मा यो संख्या बढेर १०० नवजात महिला शिशु जन्ममध्ये ११० नवजात पुरुष शिशुको जन्म पुगेको थियो।
यो तथ्याङ्कले विद्यमान लैंगिक असमानताका कारण छोरीको अवमूल्यन भइरहेको, प्रजननदर घटिरहेको तथा छोरीभन्दा छोराको चाहाना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको प्रतिविम्बित गरेको भन्न सकिन्छ। पछिल्लो समय शिशु जन्ममा लिंग अनुपातको असन्तुलन अझै बढ्दै गएको छ।
सन्तान जन्मनुअघि लिंग पहिचान र विभेदपूर्ण लिंग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसंख्या लैंगिक असमानता देखिन थालेको वातावरण, स्वास्थ्य, जनसंख्यासम्बन्धी गतिविधिको अनुसन्धान केन्द्र (कृपा) को तथ्यांकमा उल्लेख छ।
झण्डै दुई वर्षअघि कृपा र युएनएफपिएले रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पालगायत १२ जिल्लामा गरेको अनुसन्धानमा एक वर्षमुनिका जनसंख्याको सबभन्दा बढी लैंगिक विभेद अर्घाखाँची जिल्लामा देखिएको थियो। सबैभन्दा कम मकवानपुरमा थियो। अर्घाखाँचीमा एक वर्ष उमेर समूहका बालबालिकामध्ये १०० बालिकाको अनुपातमा १२७ बालक छन्।
छोरी सय जना जन्मँदा छोरा १०५ जना जन्मनुसम्मको अनुपात सामान्य मानिन्छ तर कृपाको अनुसन्धानमा सय जना छोरी जन्मँदा १ सय २७ जनासम्म छोरा जन्मेको पाइएको थियो। कृपाले एक हजार ९८० जना आमामा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो। अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भमै बच्चा छोरा वा छोरी के छ भन्ने जानकारी पाउने गरेको बताएका थिए। सहजै भिडिओ एक्स–रे गर्न सकिने सुविधाले पनि लिंग पहिचान र गर्भपतन बढेको छ।
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ। हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ।
विभिन्न कारणले पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा समस्या हुने स्त्रीरोग विशेषज्ञ डा चापागाईं बताउँछिन्। उनका अनुसार आफूखुसी औषधि प्रयोग र अनुभवहिन व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्णरूपमा नजान सक्छ । गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना रहन्छ र संक्रमण भई क्यान्सर समेत हुने डर हुन्छ।
लैंगिक विभेद अन्त्यका लागि संघ र प्रदेश सरकारले योजना र कार्यक्रम बनाए पनि लक्षित वर्गसम्म पुग्न सकेको छैन।