सप्तरीमा हात्तीको समूहले चार वटा घर भत्काउँदा लाखौंको क्षति भएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.–७ भंगहा टोलको दलित बस्तीमा राति करिब १२ बजेको समयमा आएको ५ वटा हात्तीको समूहले फुसको घर भत्काउनुका साथै लाखौंको क्षति पुर्याएको छ।
हात्तीको समूहले फुसको घर भत्काउँदा घरभित्र रहेको ८ क्विन्टल चामल, दाल, लगायतका खाद्यान वस्तु खाएर क्षति पुर्याएपछि स्थानीय सिमरित दासको ६ जनाको परिवारलाई खाने समस्या भएको छ।
राति घरमा सुतिरहेको समयमा हात्तीको समूहले घर भत्काउँदा लत्ता कपडासहित भाडावर्तन सबै नष्ट पारी दिएको स्थानीय परियार देवी दासले बताइन्।
‘सबैजना सुतिरहेका थियौं राति अचानक ४/५ वटा हात्तीहरूले घरमा आक्रमण गर्न थाल्यो,’दासले भनिन् ‘पति रोजगारीको क्रममा काठमाडौंमा हुनुहुन्छ घरमा ३ छोरीसहित म र सासु आमा छौं कहाँ र कसरी बस्ने भन्ने पिर भएको छ।’
उक्त ठाउँकै स्थानीय भिम दासको घर समेत भत्काइ दिएको छ।
‘हामी सबै जना ससुराली गएका थियौं,’ उनले भने, ‘घरभित्र रहेका खाना अन्नदेखि लिएर भाडा वर्तनसमेत हात्तीको समूहले भत्काइ दिएको छ।’
यसैगरी सप्तरीकै कनकपट्टीमा मो. जाहगिर मियाँ, मो. असरादिन मियाँ, मो. हजरादिन मियाँ, मो. असरादिन मियाँको सोही रात हात्तीको समूहले घर भत्काई क्षति पुर्याएको शम्भु नाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गानन्द भगतले बताए।
‘समूहमा रहेका हात्तीले गरेको आक्रणका कारण कतिपयको उठिबास भएको छ,’ वडाध्यक्ष भगतले भने, ‘वर्षेनी यहाँका स्थानीय यो समस्या भोग्न बाध्य भएका छन्।’
यता, हात्तीले क्षति पुर्याएका स्थानीयहरूलाई क्षतिपूर्तिबापत राहत प्रदान गरिने सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।