अमेरिका, क्यालिफोर्निया बस्ने प्रदीप खनाललाई एउटै कुराले झस्काइरहन्थ्यो- छोराछोरी हुर्किँदै छन्। भोलि नेपाल फर्किँदा एयरपोर्टको साइनबोर्डमा लेखेको नेपाली अक्षर कसरी चिन्लान्? कसरी पढ्लान्?
नेपालीको छोराछोरी भएर नेपाली जान्दिनँ भन्दा कति खिन्न होला?
त्यसमाथि प्रदीपको विश्वास छ- जति धेरै भाषा जान्यो जीवनमा उति अगाडि बढ्न सकिन्छ। उत्ति नै फराकिलो दिमाग हुन्छ।
विदेश बस्ने नेपालीका छोराछोरी यिनै कुराबाट टाढिन नपरोस् भनेर के गर्न सकिन्छ त?
प्रदीप, उत्तर क्यारोलिन बस्ने उनका साथी सुशील सुवेदी र पेन्सिलभेनिया बस्ने वत्सल देवकोटाले यसको समाधान निकालेका छन्- 'ककाकि'।
ककाकि नेपालका शिक्षकद्वारा विदेश बस्ने नेपाली केटाकेटीलाई अनलाइन कक्षामार्फत् नेपाली भाषा लेख्न र पढ्न सिकाउने प्लेटफर्म हो। ककाकिमा अहिले ५० जनाभन्दा बढी आप्रवासी केटाकेटीले नेपाली बोल्न, लेख्न र पढ्न सिक्दैछन्। उनीहरूलाई नेपालका तीन शिक्षकले पढाउँछन्।
क- कलम, का- कापी, कि- किताब, यही भावमा ककाकि नाम फुराएको प्रदीप बताउँछन्।
'आफ्ना केटाकेटीलाई ककाकि वेबसाइटमार्फत घरै बसेर अनलाइनमा नेपाली पढ्न र लेख्न सिकाउन सकिन्छ,' प्रदीपले सेतोपाटीसँग भने।
साढे सात वर्षकी छोरी बेला र साढे एक वर्षका छोरा नमका बुवा हुन् प्रदीप। दुई दशकअघि स्नातक पढ्न अमेरिका पुगेका उनी पढाइ र काम भन्दाभन्दै उतै बस्न थाले।
बाध्यता र रहरले थुप्रै नेपाली विदेशमा छन्। जन्मभूमिबाट जति नै टाढिए पनि जन्मथलोको सम्झना र आफ्नो पृष्ठभूमि बिर्सने कमै हुन्छन्। प्रदीप यिनैमध्येका हुन्।
'अमेरिकामा छोराछोरी हुर्किँदै जाँदा उनीहरू नेपाली भाषासँग टाढिँदै गएको महसुस भयो,' प्रदीपले भने, 'घरमा फाट्टफुट्ट बोल्ने भए पनि लेख्न र पढ्न सिकाउने फुर्सद मलाई हुन्थेन।'
उनी बसेको सेरोफेरोमा केही नेपालीहरू स्वेच्छाले नेपाली पढाउँथे। त्यसमा उनले छोरी बेलालाई पठाएका थिए। तर कोरोनाले त्यो कक्षा बन्द गरिदियो।
‘नेपालीहरू मिलेर नेपाली सिक्न इच्छुक केटाकेटीलाई त्यहाँ नेपाली सिकाइन्थ्यो,’ प्रदीपले भने, ‘कोरोना महामारीका कारण त्यो पनि बन्द भयो। छोरीले धेरथोर सिकेको नेपाली पनि बिर्सेलिन् भन्ने पिर हुन थाल्यो।’
यसपछि प्रदीपले नेपाली पढाउनकै लागि बेलालाई अनलाइन कक्षा राखिदिने सोचे। उनले नेपालमा भएका आफन्तसँग सल्लाह गरे। र, नेपाली शिक्षक शोभा बास्कोटासँग सम्पर्कमा आए। शोभा सितापाइलास्थित शिशु निकुञ्ज माध्यमिक विद्यालयकी शिक्षक हुन्।
‘आफन्तको माध्यमबाटै शोभाजीसँग सम्पर्क गरेँ,’ प्रदीपले भने। शोभाले प्रदीपकी छोरीलाई नेपालै बसेर अनलाइनबाट अमेरिकामा पढाइदिने भइन्।
यो कुरा प्रदीपले अमेरिका, साथी सुशील र वत्सललाई सुनाए। प्रदीप र सुशील सानैदेखिका साथी हुन्। वत्सल र प्रदीप भने एकै कम्पनीका सहकर्मी। दुवै आइमार्क कम्पनीका बोर्ड सदस्य हुन्।
सुशीलकी ८ वर्षकी छोरी सुदिती र वत्सलकी ११ वर्षकी छोरी अदिती छन्। उनीहरूलाई पनि बेलासँगै कक्षा राखिदिने कुरा भयो।
शोभाले असार दोस्रो सातामा तीन जनासँग पहिलो कक्षा लिइन्। केही हप्तामै तीनै जनाको नेपाली बोलाइ, पढाइ र लेखाइमा सुधार देखिन थाल्यो।
‘छोरीहरूले नेपाली शिक्षकसँग पढ्दा सहज भएको बताए। हामीले उनीहरूजस्तै आप्रवासमा रहेका नेपालीका छोराछोरीलाई पनि नेपाली लेख्ने-पढ्ने बनाउन सक्छौं कि भन्ने लाग्न थाल्यो,’ प्रदीपले भने। यही विचार उनले सुशील र वत्सल सुनाए।
दुवैले यसमा सहमति जनाए।
त्यसपछि उनीहरू नेपाली भाषा लेख्न र पढ्न सिकाउने प्लेटफर्म ककाकि सुरू गर्ने निष्कर्षमा पुगेका हुन्।
जुन, २०२० देखि सुरू भएको नेपाली सिकाउने यो अनलाइन प्लेटफर्मका पहिलो शिक्षक शोभा नै हुन्। सुरूका दिन शोभा एक्लैले कक्षा लिए पनि अहिले उनीसहित चितवनकी सरिता रेग्मी र काठमाडौंकी अन्जु अधिकारी पनि ककाकिमा शिक्षक छन्।
सरिता विगत ६ वर्षदेखि शिक्षण पेसामा छिन् भने अन्जुले यो पेसा छाडेकी थिइन्। अहिले ककाकिबाट पुनः यसैमा जोडिइन्।
अहिले शोभा, सरिता र अन्जु हप्तामा ५ वटासम्म कक्षा लिन्छन्। प्रत्येक कक्षा एक घन्टाको हुने शोभाले जानकारी दिइन्।
‘एउटा कक्षामा ४ जनासम्म विद्यार्थी हुन्छन्। उनीहरूको क्षमता अनुसार कुन स्तरको कक्षामा राख्ने भन्ने अगाडि नै तय हुन्छ,’ विगत ७ वर्षदेखि शिक्षण पेसामा आवद्ध शोभाले भनिन्, ‘यसो हुँदा केटाकेटीलाई पढ्न असहज हुँदैन। र हामीलाई पनि क्षमता अनुसार पढाउन सजिलो हुन्छ।’
ककाकिमा यतिबेला ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थी छन्। उनीहरूलाई पहिले पढ्न सिकाइन्छ। अनि लेख्न। त्यसपछि गृहकार्य दिइन्छ।
‘पढेर भन्दा लेखेर चाँडै शब्द र अक्षरहरू टिप्न सकिन्छ। त्यसैले हामी गृहकार्यमा पनि जोड दिन्छौं,’ शोभाले भनिन्।
यसका लागि विद्यार्थीसँग इमेल, भाइबर र अन्य सामाजिक सञ्जालका माध्यमबाट शिक्षकहरू जोडिएका छन्। विद्यार्थीले नबुझे शिक्षकले अंग्रेजीमा अनुवाद गर्दै पनि बुझाउँछन्। यसो हुँदा नयाँ भर्ना भएका विद्यार्थीलाई सहज महशुस गर्ने उनीहरूको भनाइ छ।
कोरोनाका कारण यतिबेला नेपालका अधिकांश स्कुलले अनलाइन कक्षा चलाइरहेका छन्। त्यसैले शोभा र अरू शिक्षकलाई सहजै समय मिलेको छ। अवस्था सामान्य भएर स्कुल गए पनि समय मिलाउन समस्या नपर्ने शोभा बताउँछिन्।
‘अनलाइन कक्षा हुने हो। बिहान र बेलुकी समय मिलाउन सकिन्छ,’ शोभाले भनिन्।
उनलाई आफूले सुरूका दिन पढाएका विद्यार्थी अहिले खरर नेपाली बोल्ने, सहजै लेख्ने र पढ्ने भएको देख्दा खुसी लाग्छ। त्यस्तै ककाकिले नेपाली शिक्षकलाई अवसर दिएकोमा सकारात्मक भाव व्यक्त गर्दै भन्छिन्, ‘नेपालबाटै विदेशमा भएका विद्यार्थीलाई पढाउन पाउँदा रमाइलो लाग्छ। आम्दानीको स्रोत पनि बनेको छ।’
ककाकिका सह-संस्थापक प्रदीपका अनुसार नेपाली शिक्षक नियुक्त गर्नुमा विशेष कारण छन्। पहिल्यैदेखि नेपाली जानेका र शिक्षण पेसामा आवद्ध शिक्षक भए विद्यार्थीलाई अनुशासित ढंगबाट पढाउन सक्छन्। अर्को, विदेशमा भएका शिक्षकले तुलनात्मक हिसाबले महँगो शुल्क लिन्छन्।
हाल विदेशमा रहेका नेपाली केटाकेटी लक्षित भए पनि नेपालकै विद्यार्थीले समेत यो वेबसाइटमार्फत पढ्न मिल्ने व्यवस्था छिट्टै मिलाउने ककाकिको योजना छ।
ककाकिमार्फत अहिले नेपाली बोलाइ, पढाइ र लेखाइ सिकाइँदैछ। छिट्टै यही माध्यमबाट नेपाली कला र संगीत पनि सिकाउने योजना ककाकि टोलीको छ। प्रदीपका अनुसार नेपाली लवज, कला, संगीत, संस्कृतिबारे ज्ञान र सिकाइ नै नेपाली हुनुको पहिचान हो।
‘कर्मथलो जहाँ भए पनि हामीले जन्मथलोको संस्कार, संस्कृति र हाम्रो पृष्ठभूमि भुल्नु हुँदैन। नेपाली भाषालाई सधैं पहिलो दर्जामा राख्नुपर्छ भन्ने लाग्छ,’ प्रदीप भन्छन्, ‘यिनै कुरा संरक्षण गर्ने प्रयासमा हामी पनि ककाकिको माध्यमबाट लागेका हौं।’