प्रहरीले विभिन्न ठाउँबाट १९ नाल भरुवा बन्दुक पक्राउ गरेको छ।
बाग्लुङ ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाएर राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट ९ थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
बाग्लुङ प्रहरीका अनुसार बिहीबार बिहान प्रहरी टोलीले हतियार बरामद गरेको हो। इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो। ती बन्दुक जंगलमा किन र कसले राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, नुवाकोट, मेघाङ गाउँपालिका-१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले हतियार बरामद गरेको हो।
यसैगरी, जोरायल गाउँपालिका-६ जारिमघाट बस्ने २५ वर्षीय प्रदीप थापा मगर र सोही गाउँपालिका सिमले बस्ने २७ वर्षीय महेश थापा मगरलाई भरुवा बन्दुक एक थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बडिकेदार गाउँपालिका-१ अलाडीस्थित मेला हेर्न गएको अवस्थामा १५ वर्षीया किशोरीलाई बुधबार राति प्रदीपले एकान्तमा लगेर जबरजस्ती करणी प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विपीननगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त बन्दुकसहित फेला पारेको हो।
गाउँपालिकामा विस्फोटन गराउने पक्राउ
उदयपुर ताप्ली गाउँपालिका-५ रुपाटारबाट उक्त गाउँपालिकाको कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्लेका ३७ वर्षीय जिरा भन्ने ऋतु विक र सोही गाउँपालिका-५ गहतेका ६७ वर्षीय जटिल बा भन्ने गौरबहादुर देवकोटा छन्।
गत आइतबार उक्त कार्यालयमा विष्फोट गराएको र प्रवेशद्वारमा एक थान विष्फोटक पदार्थ समेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई हिरासतमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।