बर्दियाको जंगलमा नरभक्षी बाघको खोजी गर्न १३ वटा क्यामेरा जडान गरिएको छ।
बर्दिया जिल्लाको नेपाल–भारत सीमा नाकाको ८१ नम्वर पिलरदेखि ८३ नम्वर पिलरसम्मको विभिन्न ११ ठाउँमा नरभक्षी बाघ खोज्न क्यामेरा जडान गरिएको हो।
बर्दियाका डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेका अनुसार कात्तिक १४ गते विभिन्न ११ ठाउँमा १३ वटा क्यामेरा जडान गरी नरभक्षी बाघको खोजी सुरु गरिएको हो। तर हप्ता दिन पुग्दा समेत उक्त नरभक्षी पाटे बाघको पहिचान भइसकेको छैन।
वनमा जडान गरिएका क्यामेरामा विभिन्न ४ वटा बाघ कैद भएको वन अधिकृत वाग्लेले सेतोपाटीलाई बताए। चार वटा बाघ क्यामेरामा कैद भएको देखिए पनि नरभक्षी बाघ कुन हो? भनेर पहिचान गर्न कठिन भएको उनले बताए।
‘हालसम्म चार वटा विभिन्न थरिका बाघका इमेज प्राप्त भएका छन्,’ वाग्लेले भने ‘ हामीले नरभक्षी बाघको पहिचान गर्नको लागि ती इमेज बर्दिया राष्ट्रिय निकुञ्जमा पठाएका छौं।’
बाघको पहिचान गरिसकेपछि डार्टिङ गरि त्यसलाई समात्ने योजना तय गरिएको वन अधिकृत वाग्लेले जानकारी दिए ।
त्यसका लागि कम्तिमा पनि चारवटा हात्तीसहित आर्मी र प्राविधिकहरुको टोली पलिचालन गर्नेगरी तयारी गरिएको उनले बताए।
‘बाघको पहिचान भइसकेपछि आर्मीको टोली डार्टिङका लागि एयर गनसहितको प्राविधक टोली हात्तीमार्फत पठाइने छ,’ वन अधिकृत वाग्लेले भने ‘नरभक्षी बाघको पहिचान नगरी जो पायो त्यही बाघलाई डार्टिङ नगरौं भन्ने सुझाव आएको छ।’
भारतको जंगल हुँदै नेपालको वन जंगल प्रवेश गर्दा गाउँतिरको बाटो भएर कुन बाघ बढी हिँडिरहेको छ र अलि टाढाको दूरीबाट कुन बाघ हिँडिरहेको छ भन्ने एकीन गरेर मात्रै नरभक्षी बाघ डार्टिङ गरेर समातिने उनले बताए ।
‘धेरै थरिका बाघहरु क्यामेरा ट्रयापिङमा परेपनि कुन बाघ नरभक्षी बाघ हो? भनेर एकीन गर्न कठिन भइरहेको वाग्लेले बताए।
उनले उक्त नरभक्षी पाटे बाघ भारतीय जंगलबाट नेपालका सामुदायिक वनमा प्रवेश गरी आतंक सृजना गरेको देखिन आएको पनि जानकारी दिए। ‘हाम्रो क्यामेराको ट्रयापिङका आधारमा उक्त पाटे बाघ सीमावर्ती भारतीय कतरनियाघाट वाइल्ड लाइभ स्यानचुरीबाट हाम्रोतिर प्रवेश गरेर बितण्डा मच्चाउने र फेरि उतै फर्किएर जाने गरेको देखिएको छ,’ वन अधिकृत वाग्लेले भने ‘तर, त्यसबारे अझैं अनुसन्धान हुन बाँकी छ।’
डार्टिङ गरेको बाघ भारतीय जंगलमा छिर्न सक्ने भएकाले भारतीय वन अधिकारीसँग पनि कुरा गरिरहेको उनले बताए। ‘नरभक्षी बाघ डार्टिङ क्षेत्र भारतीय भूमिमा प्रवेश गरे पनि हामीले समातेर ल्याउन पाउनु पर्छ भनेर छलफल चलाएका छौं’ उनले भने।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले गेरुवा, मधुवन लगायतका क्षेत्रमा नरभक्षी बाघ खोज्नका लागि क्यामेरा जडान भएको बताए।
एक महिनामा ५ जनाको ज्यान लियो
बर्दियामा उक्त नरभक्षी बाघले झन्डै एक महिनाको अवधिमा पाँच जनाको ज्यान लिएको छ।
गेरुवा गाउँपालिका वडा नं. ४ राजिपुर निवासी ५८ वर्षीय लहानु थारूको कात्तिक १५ गते बेलुका पाटे बाघले आक्रमण गरेर ज्यान लिएको थियो। उनको घर नजिकै खोलामा गोरुलाई पानी खुवाउन गएको समयमा बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो।
तर, उक्त बाघले थारुको हत्या गरी एउटा गोरु लगेर गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए। गेरूवा गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षत्र हो।
त्यस्तै कात्तिक ११ गते धनौरा गाउँ निवासी २६ वर्षीय रमेश थारू र २७ वर्षीय दिनेश थारूको ज्यान लियो। धनौरा नेपाल भारत सीमा क्षेत्रको मधुवन नगरपालिका वडा नं. ३ मा पर्छ। उनीहरु दुबै जनालाई बेलझुण्डी सामुदायिक वनमा पाटे बाघले आक्रमण गरेको थियो।
त्यस्तै कात्तिक ५ गते सोही ठाउँ निवासी २८ वर्षीया गंगा बुढालाई पनि सोही पाटे बाघले आक्रमण गरी ज्यान लिएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुढा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बाघले आक्रमण गरेको थियो।
त्यो भन्दा केही समय पहिले मात्रै मधुवन नगरपालिका निवासी एक किशोरको पनि असोजमा बाघको आक्रमणमा परी ज्यान गएको थियो। उनी खोलामा माछा मार्न गएका थिए।