भक्तपुर इन्काउन्टर ‘फेक’ भएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरसहित पाँच जना प्रहरीलाई कारबाही सिफारिस गरेको छ।
आयोगले उक्त घटनाका ‘अपरेसन’ इन्चार्ज कुँवरसहित प्रहरी नायब निरीक्षक (सई)हरू दीपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र राजन खड्कालाई कारबाहीको सिफारिस गरेको हो।
आयोगले शुक्रबार मानवअधिकार उल्लंघनकर्ताहरूको सूची सार्वजनिक गर्दैछ। जसमा भक्तपुर इन्काउन्टरको घटना पनि समावेश छ।
‘नियन्त्रणमा लिएर यी पाँच जना प्रहरी अधिकृतले अपराधमा संलग्न व्यक्तिहरूलाई गोली हानी हत्या गरेको देखियो,’ आयोग स्रोतले भन्यो।
आयोग अध्यक्ष अनुपराज शर्माले यी पाँच प्रहरीमाथि के कस्तो कारबाही गर्ने भन्नेबारे विज्ञप्तिमार्फत जानकारी दिइने बताए।
‘आयोगले औपचारिक रुपमा यो घटनामा के भएको हो र के कारबाही गर्नुपर्ने हो जानकारी दिने नै छ,’ उनले सेतोपाटीसँग भने।
२०७५ साल साउन २१ गते निशान खड्कालाई अपहरण गरी हत्या गरिएको थियो।
सो घटनामा संलग्न रहेका अजय तामाङ र गोपाल तामाङलाई भोलिपल्ट साउन २२ गते काँडाघारीमा लगेर प्रहरीले ‘इन्काउन्टर’ गरेको थियो।
त्यसबेला अपराध महाशाखा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहको नेतृत्वमा थियो।
हत्यामा संलग्न पेन्टर तामाङद्वयका हातमा पेस्तोल राखेर तस्बिर सार्वजनिक गरिएको थियो र त्यसै आधारमा ‘इन्काउन्टर’ भनिएको थियो।
तामाङद्वयको ‘फेक इन्काउन्टर’मा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति निकालेर ‘दोहोरो मुठभेड’ भएको र प्रहरीले गोली चलाउँदा ‘इन्काउन्टर’ भएको दाबी गरेको थियो।
सोही दाबीलाई तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले अन्तिम सत्य भनेका थिए। गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरीकै भनाइ दोहोर्याए। काँडाघारी घटनाको वास्तविकता त्यहीँ ‘रफादफा’ भयो। निशान खड्काको अपहरणपछि हत्या हुनुको अनुसन्धानै सकिएको थियो।
‘इन्काउन्टर’मा मारिएका तामाङद्वयका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा घटनाबारे अनुसन्धान गर्न निवेदन दिएका थिए।
सो घटनामा प्रहरीले भने अनुसन्धानमा समिति गठन गरेन। ‘फेक इन्काउन्टर’ घटनामा गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने भनेका थिए। तर, छानबिन समिति नै बनेन। ‘इन्काउन्टर’मा संलग्न को थिए र के कति कारणले ‘इन्काउन्टर’ भयो रहस्यमै छ।
यसरी भएको थियो निशानको हत्या
सिन्धुपाल्चोक रातमाटे घर भएकी चमेली खड्का, पति गणेश छोराछोरीसहित २०६८ सालमा काठमाडौं आएकी थिइन्। गरिबी झेलिरहेको यो परिवारलाई माइती–ससुराली पक्षले काठमाडौं डोर्याएको थियो।
माइतीकै सुझावअनुसार दुबैले काठमाडौं–३५ सीनामंगलमा डेरा लिए। सानो चिया–खाजा पसल खोले। राजधानीको बसाइ, तीन छोराछोरीको भरषपोषण र शिक्षा जसोतसो चलिरहेको थियो। नजिकै माइती भएका कारण चमेलीलाई भरअभर सहयोग मिल्थ्यो।
लालाबाला हुर्किंदै गएपछि चमेली र गणेशमाथि जिम्मेवारी थपियो। गणेश २०७१ सालमा वैदेशिक रोजगारीमा मलेसिया गए।
तीन वर्षको बसाइपछि गणेश २०७४ फागुन महिनामा बिदामा आएका थिए। चैतको पहिलो साता मलेसिया फर्केका थिए।
तीन भाइ छोरामध्ये माइला गणेशको कमाइ खासै गतिलो थिएन। उनी छोराछोरीको भविष्य खातिर विदेशमा नंग्रा खियाइरहेका थिए।
जेठी छोरी सबिना १० कक्षामा पढ्थिन्। कान्छी नविना विराटनगरस्थित आफन्तको घर बसेर ८ कक्षा पढ्दैथिइन्। निशान पाँच वर्षयता काठमाडौं–३५, सीनामंगलकै हाइल्याण्ड अंग्रेजी स्कुल पढ्दैथिए।
अनुसार कक्षा ६ मा पढ्ने निशान भलादमी थिए। मीठो खाने, राम्रो लाउने सौख थिएन। जोसँग पनि छिटै मिल्न सक्थे।
आमाले खाजा पसल राम्रैसँग चलाइरहेकी थिइन्। डेरासँगै जोडिएको घरमा दिदीका छोराछोरी बस्थे। बाबु र भाइहरू उनको पसल नपुगेको दिन हुँदैनथ्यो।
दुःख–सुखमा रमाइरहेको यो परिवारमा साउन २१ गते बज्रपात पर्यो। अपहरणकारीबाट निशान चुँडिए।
निशान र चमेलीसँग लामो समयदेखि परिचित व्यक्ति थिए, प्रहरीबाट मारिएका अजय र गोपाल तामाङ।
तामाङद्वय चमेलीको चिया–खाजा पसलमा बाक्लो आउजाउ गर्थे।
दाजु–भाइ हौं भन्थे। पेन्टिङ गर्थे। ठिमीमा डेरा थियो। भलादमी स्वभावकै देखिन्थे। आइरहने भएकाले निशानसँग उनीहरू घनिष्ठ भइसकेका थिए।
भक्तपुर मूलपानीमा चमेलीले तीन आना जग्गा किनेकी रहिछन्। सापकोटाका अनुसार त्यो जग्गा बेचेर कतै किन्ने सोच बनाउँदै थिइन्। यो कुरा तामाङद्वयले थाहा पाएका थिए।
यही कारण उनीहरूले निशानलाई अपहरण गरी फिरौती मागेको अनुमान आफन्तको छ।
सापकोटाका अनुसार निशान ४ बजे स्कुलबाट घर आए। त्यही दिन चमेलीले आफ्नो पुरानो मोबाइल बेचेकी थिइन्। यो कुरा पनि तामाङद्वयले थाहा पाएका थिए।
स्कुलबाट फर्किएको केही समयमा निशानले ‘नयाँ मोबाइल’ चाहियो भन्दै ढिपी कसे। गोपालद्वय सँगै थिए।
अजय बियर पिउन थाले। निशानलाई गोपालको साथ लगाएर चमेलीले मोबाइल किन्न पठाइन्।
बेरमै निशान मोबाइल लिएर आए, चमेलीको टेबलमा राखिदिए। गोपाल भने पसलमा आएनन्।
निशान ढोकाबाट निस्के। कामको व्यस्तताबीच चमेलीले वास्ता गरिनन्। अजय केहीबेरमा हिँडे।
जब ८ बज्यो, निशानको खोजी भयो। ‘खाना खाने बेलासम्म किन आएन?’ भन्दै उनले खोजी गर्न थालिन्। निशान जान सक्ने सम्भावित ठाउँमा खोजिछन्। कतै भेटिएनन्। थोरै आत्तिइन्।
पौने ९ बजे नचिनेको नम्बरबाट फोन आएछ। उठाउँदा आवाज बुझिएन। सो नम्बरमा फोन फर्काउँदा व्यस्त देखियो। अर्कोपटक फोन आयो।
‘तिम्रो छोरा हामीले अपहरण गरेका छौं, ४० लाख फिरौती ठिक पार्नू,’ फोन गर्नेले भन्यो, ‘पुलिसलाई खबर गरे राम्रो हुँदैन।’ त्यो नम्बरमा फोन गर्दा लागेन।
चमेली आत्तिइन्। छिमेकीहरू सबैले थाहा पाइहाले। झुम्म भेला भएका छिमेकीलाई चमेलीले यथार्थ बताइदिइन्। छिमेकीहरूले पुलिस कन्ट्रोल–१०० मा फोन गरेर घटना टिपाए। त्यसको केहीबेरमा मामा रामकाजी साफकोटालाई फोन आयो। रामकाजी सेनामा कार्यरत भाइ पदमलाई लिएर हिँडे।
पसलमा पुग्दा प्रहरी आइसकेको थियो। प्रहरीले लोकेसन हेर्न थाल्यो। केहीबेरमै ठिमीतिर भन्दै उतै हिँड्यो।
सादा पोशाकमा सय–डेढ सय प्रहरी परिचालन भएका थिए।
राति ११–१२ बजे बीचमा रामकाजी सापकोटाले गोपालको नम्बरमा फोन गरे, उठेन।
ठिमी ‘लोकेट’ गरेर प्रहरीले खोजी गरिरहेकाले तामाङद्वय शंकास्पद थिए। रात बित्यो तर निशान भेटिएनन्।
भोलिपल्ट झन्डै सवा नौ बजे चमेलीको डेरामा प्रहरी पुग्यो। सापकोटा दाजुभाइ त्यहीँ थिए। ठिमी हिँड्न प्रहरीले अनुरोध गर्यो। उनीहरू प्रहरीको भ्यानमा चढे।
१० बजेको हाराहारीमा प्रहरीले दुबैलाई झपार्यो, ‘हिजो किन गलत सूचना दिनुभयो तपाईंहरूले?’
११ बज्दो हो।
‘हामी घटनाको नजिक पुगेका छौं, ढुक्क भएर जानुहोस्,’ प्रहरीले भने।
साढे ११–पौने १२ को बीचमा।
तामाङद्वयको कोठाबाट अन्दाजी ६–७ सय मिटर पर घटनास्थल रहेछ। त्यो दुरी पुग्न लागेपछि प्रहरीले भन्यो, ‘मर्डर भइसकेको छ, दुःख नमान्नुस्, बच्चाको आमालाई सम्हाल्नुस्।’
सुनेपछि चमेली ठाउँको ठाउँ बेहोस् भइन्। घटनास्थल पुग्दा प्रहरीले लाश पुरेको माटो पन्छाउँदै थियो।
पिल्लर उठाउनका लागि थोरै प्लास्टर गरी माटोले पुरिएको रहेछ। त्यो खोतल्दै जाँदा घोप्टो अवस्थामा लाश फेला परेको थियो।