नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो, पोखरा। बर्खामा परेको पानीले सडकमा ढल नभई खोला बग्छ। सडकका दायाँबायाँ बनाइएका नालीले बर्खाको पानी थेग्न सक्दैन। विकास योजना बनाउँदा नै बर्खाका पानी तर्काउने विधि अपनाउन नसक्दा समस्याका चाङ लाग्ने गरेको छ।
पानीकै कारण पछिल्लो समय निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समस्यामा परेको छ।
नहर, कुलो र आकाशे पानीको व्यवस्थापन गर्न नसके विमानस्थलको संरचनामा क्षति गर्ने पोखरा विमानस्थलका कन्सल्टेन्ट इञ्जिनियर भुपेन्द्र गौचनले बताए।
‘आकाशबाट परेको पानीले पनि पोखरामा खोलाको रूप लिन्छ’, गौचनले भने, ‘कहिलेकाहीँ त सडकमै बगेको पानी पनि तर्न सकिँदैन।’
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाहिर उत्तरतर्फ पृथ्वीराजमार्गको ४ किलोमिटर क्षेत्र पर्दछ। राजमार्ग र भित्री सडक हुँदै सेती नदी र काहुँखोलादेखि सिँचाइका लागि बनाइएको नहरको पानी एकत्रित हुन्छन्, विमानस्थल क्षेत्रमा बाढीसहितको भल पसेर संरचनामा क्षती पुर्याउँछ। साथै विमानस्थलका पूर्वतर्फ विजयपुर खोला नजिकैको जग्गामा पहिरो जाने समस्या बल्झिएको छ।
पृथ्वी राजमार्गबाट दक्षिणतर्फ पर्ने विमानस्थल क्षेत्र गहिराइमा पर्ने भएकाले पनि नहर र वर्षाको भल-बाढी बगेर विमानस्थल पुग्छ। विमानस्थल क्षेत्रकै दुई किलो नहरको मुहानमा बनाइएको विजयपुर खोलाको बाँधसम्मको संरचना पूर्ण क्षमतामा नभएको, विमानस्थल नजिकै रहेको भित्री सडक बिपी मार्ग र नहरको भू-भाग अतिक्रमण भएर पूर्ण क्षमतामा सञ्चालनमा अवरोध भएको छ। जसले बर्खाको पानीमात्र नभई नहरमा बग्ने पानीसमेत विमानस्थलमा छिर्न सघाएको छ।
पृथ्वी राजमार्गको कुँडहर चोकदेखि विजयपुर खोलासम्म पानी धेरै बग्ने भएका कारण विमानस्थलको संरचना क्षेत्रमा प्रवेश गर्ने गरेको छ। विमानस्थलको उत्तरतर्फ बहने नहर र तिनका शाखा कुलोमा क्षमताभन्दा धेरै पानी बहँदा बाढी र पहिरोको जोखिम बढाएको छ।
यी त केही उदाहरण हुन्, जसले विमानस्थलमा नयाँ समस्या थपिदिएका छन्। नहर र कुलोबाट मात्र नभई बर्खामा परेको पानीसमेत सडकका नालीले थेग्न सक्दैनन्, नहर, कुलो र आकाशे पानीको व्यवस्थापन गर्न आयोजनाले पोखरा महानगर र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलगायतलाई आयोजना निर्माणमा देखिएको पानी व्यवस्थापनको समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी गराए।
आयोजनालाई नहर, कुलो र बर्खाको पानीबाट पुर्याउन सक्ने क्षतिबारे आयोजनाकै उपप्रबन्धक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलले आयोजना क्षेत्रमा बर्खामा प्रवेश गर्ने पानीको भल र बाढीले विमानस्थल सञ्चालनमा अवरोध पुर्याउन सक्ने गरी क्षति गर्न सक्ने प्रतिवेदन दिएको थियो।
‘पानीको व्यवस्थापन गर्न सकिएन भने विमानस्थललाई क्षति पुर्याउँछ’, कार्यदलका संयोजक पौडेलले भने, ‘हामीले विकल्पसहित गण्डकी प्रदेश, सिँचाइ डिभिजन कार्यालय र पोखरा महानगरलाई समस्या समाधानका विकल्प दिएका छौं।’
पानी तर्काउनु पर्ने ठाउँमा अहिले भने महानगरबाट भवन निर्माणको नक्सा पास भइरहेको छ। पानीको समस्या अहिले नै समाधान गर्न आफूहरू लागि परेको आयोजना प्रमुख मुनकर्मीले बताए।
‘अहिले नै यो समस्या समाधान भएन भने पछि विकराल रूप लिन्छ’, उनले भने, ‘समस्या समाधान गर्न सबै निकाय सकारात्मक छन्, अब केही होला।’
विमानस्थल निर्माणका लागि काट्नु पर्ने पूर्वतिरको डाँडाका रूख काट्ने अनुमतिसहित वातावरणीय अध्ययन प्रतिवेदन पनि संशोधन गर्नुपर्ने अवस्था आएको मुनकर्मीले बताए। पछिल्लो अध्ययनअनुसार डाँडा ३५ मिटर काट्नु पर्ने देखिएको छ। आयोजनाले एक वर्षअघि नै डाँडा काट्न सुरू गरे पनि निजी र सार्वजनिक जग्गाको रूख काट्नेबारे वातावरणीय अध्ययन प्रतिवेदनमा समावेश नहुँदा रोकिएको थियो।
आयोजनामा नेपाल आयल निगमले बनाउने भनिएको इन्धन भण्डारण कक्षको काम पनि अहिलेसम्म सुरू भएको छैन। आयल निगमको ढिलासुस्तीका कारण इन्धन भण्डारण निर्माणमा ढिलाइ भएको आयोजना पक्षले जनाएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि भएको लकडाउनका कारण आयोजना बनाउन आवश्यक सामग्री विदेशबाट आयात गर्न समस्या देखिएको मुनकर्मीले बताए। सिमेन्टलगायत सामग्री ल्याउन भारततर्फका नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा अवरोध हुने गरेको उनले बताए। यस्तै, चीनतर्फको रसुवागढी नाकामा आयोजनाको २ कन्टेनर सामग्री ६ महिनादेखि रोकिएको मुनकर्मीले जानकारी दिए।
आयोजनाले अधिग्रहण गर्नुपर्ने जग्गा लकडाउनका कारण जग्गाधनी मुआब्जा बुझ्न नआएको आयोजनाले जनाएको छ। उक्त समस्या समाधान गरिदिन आयोजना प्रमुख मुनकर्मीले प्रदेश र पोखरा महानगरलाई आग्रह गरे।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समस्या परेपछि मात्र प्रदेश सरकारलाई खोज्ने तरिका बेठिक भएको बताए। आयोजनाले अध्ययन कार्यदल बनाउँदा नै प्रदेश सरकारलाई समेट्न नसकेको भन्दै आलोचना गरेका बस्नेतले स्थानीय नागरिकको समस्या समाधान गरेर अघि बढ्नु पर्ने बताए।
‘सरकार तीन तहको छ भनेर सोच्नुपर्यो, एउटालाई बिर्सेर समस्या समाधान हुँदैन’, उनले भने, ‘हामीले यसो गर्नुपर्छ भन्नुभन्दा पनि स्थानीयको धारणा के हो बुझेर उपयुक्त समाधान निकाल्नुपर्छ।’
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विमानस्थलको काम रोकिन नदिने गरी अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने बताए। अहिले देखिएका पानीको समस्या समाधान गर्न कुन सरकारले कुन काम गर्ने भनेर बाँडफाँड गर्नुपर्ने भन्दै उनले समस्याको छिटो समाधान हुने विकल्पमा जानुपर्ने बताए।
‘विमानस्थलको बनाउने जिम्मा संघीय सरकारको भए पनि हाम्रो राजधानीमा भएकाले हामीलाई धेरै दुख्छ’, उनले भने, ‘राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सक्न हाम्रो पूर्ण सहयोग रहन्छ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो। उक्त कम्पनीसँग भएको सम्झौताअनुसार आयोजना निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्छ।
चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ। हालसम्म आयोजना निर्माणको काम ६४ प्रतिशत सकिएको आयोजना प्रमुख मुनकर्मीले बताए।
विमानस्थलको रनवे, एप्रोन, ह्याङ्गर, पाइपलाइन, ट्रान्सफर्मरलगायतका काम अहिले सकिएको छ भने टर्मिनल भवन, विमानस्थलभित्र एक्सेस रोड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको पार्किङको निर्माण पनि सकिएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख मुनकर्मीले विमानस्थलमा आवश्यक १४ वटा भवनको काम अन्तिम चरणमा पुगेको बताए।
अन्तर्राष्ट्रिय उड्ययन संस्था (आइकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।