२० हजार लिटर पेट्रोल लोडेड नेपाल आयल निगमको ट्यांकरमा मट्टितेल मिसाएको आरोपमा प्रहरीले एक चालकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार ना४ख ३०८५ नम्बरको ट्यांकरका चालक सचिन सुवेदीलाई पक्राउ गरिएको हो।
उनलाई आयल निगमको थानकोटस्थित डिपोबाटै पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
उक्त ट्यांकर भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको थियो।
सुवेदीले करिब चार हजार लिटर मट्टितेल ट्यांकरमा मिसाएको अनुमान गरिएको छ। चेम्बरको लक खोलेर हेर्दा मिसावट गरेको देखिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ट्यांकरमा पाँच वटा चेम्बर हुने गर्दछन्। सुवेदीले एक चेम्बरमा मट्टितेल मिसाएको प्रहरीले जनाएको छ। एक चेम्बरमा ४ केएल अर्थात् ४ हजार लिटर तेल हुने गर्दछ।
पक्राउ परेका सुवेदीमाथि आवश्यक अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।