पाँच वर्षअघि लेलेमा महिलाको हत्या गरी फरार भएका आराेपी पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार १ बजे सिराहा घर भइ काठमाडौंको मैतिदेवी बस्ने २४ वर्षीय रविकुमार यादवलाई पक्राउ गरेको हो।
दुई जना पुरूषले २०७२ साल बैशाख १५ गते बिहान साढे नौ बजे गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा ईटहरी नगरपालिका ४ घर भई ललितपुरको चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेका थिए।
परियारको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। महाशाखाले पुरानो घटनाको अनुसन्धान गर्न बनाएको विशेष टोलीले यादवलाई पक्राउ गरेको हो।
एसएसपी थापाका अनुसार रविकुमार यादवलाई पक्राउ गर्न लगातार निगरानीसहित सूचना संकलन गरिँदै आएको थियो।
घटनापछि यादव भारतस्थित बैङ्लोर गएका थिए। उनी केही दिन देखि काठमाडौंमा आएको भन्ने खबर पाएपछि प्रहरीले खोजी थालेको थियो। उनलाई बिहीबार मैतिदेबीबाट पक्राउ गरेको थियो।
त्यस्तै यस घटनामा संलग्न अर्का व्यक्तिको पनि खोजी भइरहेको एसएसपी थापाले बताए। उनका अनुसार ती व्यक्ति भारतमा रहेको खुलेको छ।
‘अर्का व्यक्ति भारतमा छन् भन्ने खुलेको छ। दुबै जना पक्राउ परेपछि किन हत्या गरेका थिए भन्ने विस्तृत खुल्न आउँछ’ उनले भने। यादवमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी वृत्त, चापागाँउमा बुझाएको छ।