नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्।
नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्।
प्रहरीका अनुसार ना३च १५९४ नम्बरको गाडी तर्ने क्रममा बुधबार अपराह्न खोलाले बगाएको थियो। चालक कावासेती नगरपालिका-८ का २६ वर्षीय नेत्रलाल भूर्तेल र गाडीको खोजी भइरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।
उनका अनुसार सोही गाडीमा रहेका सेल्समेन नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ कुकुरमाराका ५३ वर्षीय धनबहादुर गुरुङको भने सकुसल उद्धार गरिएको छ। गाडी बगेको देखेछि स्थानीले गुरुङलाई उद्धार गरे पनि चालकलाई भने नसकेको खाँणले बताए।
उक्त गाडी लालीगुराँस बेकरी उद्योगको हो।
‘बाढी आइरहेका बेला खोलो तर्न पसेको गाडीसहित चालक बेपत्ता छन्, खोजी भइरहे पनि फेला पार्न सकिएको छैन,’ खाँणले भने।
पहिरो खसेर बर्दघाट दाउन्ने सडक अवरुद्ध
नवलपरासीको दाउन्नेमा खसेको पहिरोका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ।
विश्वकर्मा मन्दिरदेखि दाउन्ने बजारसम्मका विभिन्न पाँच स्थानमा बुधबार रातिदेखि पहिरो गएको छ।
पहिरोका कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी खाँणले जानकारी दिए। सडक अवरुद्ध भएपछि राजमार्गमा ओहोरदोहोर गर्ने सयौं सवारीसाधन अलपत्र परेका छन्।
दुई वटा डोजरले पहिरो हटाउने प्रयास गरिरहेका छन्।
तीन दिनदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। पहाडबाट पहिरो खस्ने क्रम जारी छ। पानी नरोकिएसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ।
यस्तै, रुपन्देहीको तिनाउ, दानव, रोहिणी, कन्चन लगायतका खोलामा पानीको सतह बढेको छ। तिनाउ नदीले खतराको तह नाघेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। तिनाउ तटीय क्षेत्रका आधा दर्जन बढी बस्ती उच्च जोखिममा छन्।