लबालब पानी भरिएर रानीपोखरी पुरानै स्वरूपमा फर्किएको छ। बीचको बालगोपालेश्वर मन्दिरले भने धेरैलाई छक्क पार्छ।
धेरैलाई लाग्न सक्छ– यो के हो? रानीपोखरीको बीचमा यस्तो मन्दिर त पहिले थिएन!
सही हो। यो मन्दिर जुन स्वरूपमा बनेको छ, त्यो हामीले कहिल्यै देखेका थिएनौं। पुरानो तस्बिर हेर्ने हो भने पनि फरक छुट्टयाउन कठिन हुन्न।
अब प्रश्न उठ्छ– यो फरक किन त?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर जुन ढाँचामा बनाएको छ, खासमा त्यसको वास्तविक स्वरूप नै यही हो। भुइँचालोअघि हामीले देख्दै आएको ढाँचा चाहिँ विदेशी नक्कल थियो।
रानीपोखरी मन्दिरको यो स्वरूपलाई 'ग्रन्थकुट' वा 'शिखर' शैली भनिन्छ। आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले यही शैलीमा मन्दिर बनाएका थिए, जुन १ सय ७५ वर्षअघिको चित्रबाट देखिन्छ। यो रानीपोखरीको अहिलेसम्म उपलब्ध पुरानो चित्र हो।
प्रुसियाका राजकुमार वाल्डेमर सन् १८४४ देखि १८४६ सम्म श्रीलंका, भारत र नेपाल भ्रमणमा निस्केका थिए। त्यसैबीच १८४५ फेब्रुअरी ५ देखि मार्च मध्यसम्म उनले काठमाडौं उपत्यका र नुवाकोट भ्रमण गरे। उनको भ्रमण डायरीमा नेपालको अध्याय पनि छ, जसमा रानीपोखरीको उक्त चित्र संकलित छ। चित्रमा 'रानी के ताल' भनिएको छ।
त्यति बेला राजा–महाराजा विदेश भ्रमणमा जाँदा कवि, कलाकार तथा साहित्यकार पनि सँगै लैजान्थे। यो चित्र भ्रमण दलकै चित्रकारले बनाएका हुन् वा राजकुमार आफैंले भन्ने प्रस्ट छैन। डायरीमै संकलित चित्रले रानीपोखरीको तत्कालीन स्वरूप झल्काउँछ, जुन ग्रन्थकुट शैलीको छ।
यो मन्दिरको स्वरूप विभिन्न समयक्रममा फेरिएको इतिहास पाइन्छ।
विक्रम सम्बत् १८९० को भुइँचालोपछि रानीपोखरी मन्दिर पहिलोपटक पुनर्निर्माण भएको थियो। त्यति बेला ग्रन्थकुट शैलीमै बन्यो। जंगबहादुर राणाले युरोपेली प्रभावमा यसलाई 'गुम्बज' शैली दिए। नब्बे सालको भुइँचालोपछि जुद्धशमशेरले गुम्बज शैलीमै पुनर्निर्माण गराए।
यसको अर्को ठूलो पुनर्निर्माण २०१३ सालमा भएको थियो भने राजा वीरेन्द्रको राज्याभिषेक बेला पनि थप काम भएका थिए। यी पछिल्ला पुनर्निर्माणमा जंगबहादुरले भित्र्याएको गुम्बज शैली परिवर्तन गरिएन।
'जंगबहादुरको पालामा मासिएको रानीपोखरीको मल्लकालीन स्वरूप हामीले पुनर्स्थापित गरेका छौं,' पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भने।
उनी यसको श्रेय पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की, सम्पदाविद् सुदर्शनराज तिवारी लगायतको विज्ञ टोलीलाई दिन्छन्। त्यति बेला कार्कीको संयोजकत्वमा गठित रानीपोखरी जीर्णोद्धार अध्ययन समितिले मल्लकालीन ग्रन्थकुट शैलीमा मन्दिर पुनर्निर्माण गर्न सिफारिस गरेको थियो।
सरकारबाट रानीपोखरीको जिम्मा पाएपछि प्राधिकरणले कार्की, तिवारीसहितको अर्को विज्ञ टोली गठन गर्यो, जसले मन्दिरको विस्तृत डिजाइन तयार पारेको ज्ञवाली बताउँछन्।
'उहाँहरूले १ सय ७५ वर्षअघिको चित्र र ग्रन्थकुट शैलीका अन्य मन्दिरको ढाँचा हेरेर यसको ज्यामितीय नक्सा तयार पार्नुभयो,' उनले भने, 'त्यही नक्साका आधारमा मल्लकालीन शैलीसँग मिल्दोजुल्दो हुने गरी पुनर्निर्माण गरेका हौं।'
यहाँ अर्को प्रश्न उठ्छ– पुरानो चित्रबाहेक यो मन्दिर ग्रन्थकुट शैलीमै बनेको थियो भन्ने के प्रमाण छ?
यसलाई पुष्टि गर्ने बलियो प्रमाण रानीपोखरी उत्खनन् क्रममा भेटिएको थियो।
२०७२ को भुइँचालोपछि पुरातत्व तथा सम्पदाविद्को टोलीले रानीपोखरी उत्खनन् गर्दा पिँधमा एउटा गजुर फेला पारेको थियो। छेउका केही भाग भाँच्चिएको उक्त गजुर 'गुम्बज' शैलीसँग मिल्थेन। अर्थात्, त्यो भुइँचालोअघिको मन्दिरबाट खसेको थिएन। त्यो ग्रन्थकुट शैलीको मन्दिरमा राखिने गजुरको हिस्सा थियो।
ग्रन्थकुट मन्दिरको गजुरमा तीन हिस्सा हुन्छन्। सबभन्दा मुनि घन्टाकार हुन्छ। त्योभन्दा माथि कमलाकार हुन्छ। त्यसको माथि कलश राखिन्छ। कलशलाई फेरि कमलाकार गट्टाले छोपिन्छ। यी सबै भाग बज्रले बनेका हुन्छन्।
सम्पदाविद् तथा आर्किटेक्ट इञ्जिनियरिङका प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार रानीपोखरीको पिँधमा फेला परेको भाग बज्रले बनेको 'कमलाकार' गट्टा हो, जसलाई 'पद्माकार' पनि भनिन्छ।
विगतमा मल्लकालीन मन्दिर पुनर्निर्माण गर्दा उक्त कमलाकार गट्टा खसेको हुनसक्ने तिवारीको भनाइ थियो।
यो गट्टाको बीचमा प्वाल छ। छेउमा छवटा कमलको पातको डिजाइन निकालिएको छ। केही पात भाँच्चिएका छन्। पुनर्निर्माण प्राधिकरणले यो अवशेष सुरक्षित राखेको छ। यस्तै सामग्री संकलन गरेर रानीपोखरी संग्रहालयमा प्रदर्शन गर्ने प्राधिकरणको योजना छ।
तिवारीका अनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउने चलन मल्लकालमै सुरू भएको हो। यो प्रताप मल्लका पालामा बढी लोकप्रिय भएको उनी बताउँछन्।
ग्रन्थकुट शैली भनेको के हो त?
यसलाई बौद्धतन्त्रमा आधारित संरचना मानिन्छ, तिवारी भन्छन्, 'ग्रन्थकुट शब्द ग्रन्थ र कुट मिलेर बनेको हुनसक्छ। ग्रन्थले किताबको संकेत गर्छ। कुट भनेको अलिकति भिरालो परेको छाना हो।'
यस्तो ढाँचाका मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ। त्यही खम्बामाथि अलिकति भिरालो परेको छाना हुन्छ। माथिल्लो छानाको ढाँचाका कारण नै यसलाई 'शिखर' शैली भनिएको हो। तल्लो भिरालो छानामाथि अंग्रेजी अक्षर 'ए' जस्तो उठेको हुन्छ। यस्तो 'ए' आकार पनि पाँचदेखि नौवटासम्म हुने तिवारी बताउँछन्।
काठमाडौं उपत्यकामा ग्रन्थकुट शैलीका मल्लकालीन मन्दिर प्रशस्तै भेटिन्छन्। पाटन दरबार स्क्वायरको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएको सबभन्दा पुरानो हो।
राजा प्रताप मल्लले नै निर्माण गराएका अन्य संरचना पनि यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर। प्रतापपुर उनले आफ्नै नाममा बनाएका थिए भने अनन्तपुर रानीका नाममा।
विज्ञ टोलीले रानीपोखरी मन्दिरको नक्सा बनाउँदा १ सय ७५ वर्ष पुरानो चित्रलाई प्रतापपुर र अनन्तपुरसँग दाँजेर हेरेका थिए। रानीपोखरी मन्दिरको ग्रन्थकुट शैलीमा चारैतिर प्रवेशद्वार छ। प्रतापपुर र अनन्तपुरमा भने मोहडा जता फर्केको हो, त्यता मात्र छ। दक्षिणतिर फर्केको प्रतापपुरमा दक्षिणी मोहडामा प्रवेशद्वार छ भने उत्तर फर्केको अनन्तपुरमा उत्तरतिर।
माथिल्लो शिखरको ढाँचा पनि फरक छ। प्रतापपुरको शिखरमा अंग्रेजी अक्षर 'ए' को जस्तो धर्सा नौवटा देखिन्छ। यसलाई 'नवचल' भनिन्छ। रानीपोखरीको पुरानो चित्रमा भने पाँचवटा धर्सा देखिने तिवारी बताउँछन्। यसलाई 'पञ्चचल' भनिन्छ।
मन्दिरको वास्तविक स्वरूप ग्रन्थकुटभन्दा अगाडि अर्कै हुनसक्ने कुरा पनि नउठेको होइन। प्रताप मल्लकालीन नेपाल भाषाको 'थ्यासफू' (हस्तलिखित ग्रन्थ) उद्धृत गर्दै 'सुनको जलप लगाइएको छाने शैलीको मन्दिर' हुनसक्ने आकलन गरिएको थियो।
तिवारी भने यो तर्कसँग सहमत छैनन्।
'मल्लकालीन थ्यासफूमा 'लूँ देवरः' भनेर लेखिएको कुरा आएको छ। यो भनेको सुनौलो मन्दिर हो, सुनौलो छाना होइन। सुनौलो मन्दिर भन्नेबित्तिकै सुनको जलप लगाइएको छाने शैलीको मन्दिर नै हो भन्ने हुँदैन,' उनले भनेका थिए, 'त्यसो हो भने कि 'लूँ पोलः' कि 'लूँ तले' लेखिएको हुनुपर्थ्यो।'
कुनै संरचनालाई 'महत्वपूर्ण' र 'पवित्र' भनी बुझाउन पनि 'लूँ' भन्ने चलन रहेको उनको भनाइ छ।
उनले सुन्धाराको उदाहरण दिए, 'यसलाई 'लूँ हिति' पनि भनिन्छ। यहाँ लूँ भनेर सुनको धारा भन्न खोजेको होइन। यहाँको पानी तलेजु मन्दिरमा चढाउन प्रयोग गरिन्छ। त्यसैले यो धारा महत्वपूर्ण र पवित्र छ भन्ने बुझाउन लूँ शब्द प्रयोग गरिएको हो।'
विज्ञ समितिका संयोजक कार्कीले पनि 'ग्रन्थकुटभन्दा पुरानो शैलीबारे अहिलेसम्म प्रमाणित जानकारी नभएको' बताएका थिए।
विगतमा पुनर्निर्माण गर्दा वास्तविक स्वरूप बिगारिएकोमा भुइँचालोले सच्याउने अवसर दिएको यी विज्ञहरूको भनाइ थियो। उनीहरूले भनेका थिए, 'कुनै कालखण्डमा कुनै पुस्ताले बिगारेको संरचनालाई हामीले निरन्तरता दिनुपर्छ भन्ने छैन, सच्याएर जान सकिन्छ।'
पुनर्निर्माण प्राधिकरणले त्यही गरेको छ।
विगतमा जंगबहादुर राणाको पालामा मल्लकालीन शैली मास्ने जुन गल्ती भयो, त्यसलाई सच्याउने काम गरिएको ज्ञवाली बताउँछन्।
त्यसैले रानीपोखरीको बीचमा नयाँ खालको मन्दिर देखेर छक्क नपर्नु!
बरू ३ सय ५० वर्ष पुरानो शैलीको सौन्दर्य हेर्दै आनन्द उठाउनु है!
रानीपोखरीका सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी