गौतम बुद्धको मुर्ति भेटाएका महोत्तरीका एक जना युवकलाई भारतीय सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ।
महोत्तरीको मनरासिसबा नगरपालिका घर भएका २० वर्षीय बलिन्द्र सदा आज बिहान मात्रै सीमापारिको एउटा पोखरीमा माछा मार्न गएका बेला उनले बुद्धको मुर्ति भेटाएका थिए।
गाउँमा यसबारे हल्ला फैलिएपछि एसएसबीले सीमामा मुर्ति भेटिएकाले सोधपुछ गर्नुपर्ने भन्दै सदालाई नियन्त्रणमा लिएको हो।
सदालाई सीमा क्षेत्र (नोमेन्स लाइन) बाट करिब डेढ मिटर भित्र पसेर एसएसबीको चारजनाको टोलीले नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन्।
मुर्ति भेटिएका सदा एसएसबीको नियन्त्रणमा रहेका छन् भने भेटिएको मुर्ति उनको घरमा रहेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुरेश सापकोटाले सेतोपाटीलाई बताए।
एसएसबीले नेपाल प्रवेश गरी सदालाई नियन्त्रणमा लिएको हो? भन्ने प्रश्नमा एसपी सापकोटाले भने ‘हामीले पनि त्यही जानकारी पाएका थियौँ, एसएसबीका पदाधिकारीसँग कुरा गर्दा सामान्य सोधपुछका लागि मात्रै उनलाई लगिएको बताएका हुन्।’
यता एसएसबीको नियन्त्रणमा रहेका युवक सदालाई रिहा गराउन त्यहाँका बटालियन कमाण्डरसँग छलफल गरेको एसपी सापकोटाले बताए। मुर्तिको सुरक्षामा भने नेपाल प्रहरीको टोली खटिएको एसपी सापकोटाको भनाइ छ।