चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।
संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन्। अन्य ५ जना बाहिरी जिल्लाका भए पनि यहिँकै अस्पतालमा उपचाररत हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन्।
उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो। राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए। इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो।
भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
मंगलबार ३ सय १० वटा नमूना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो।