नेपालका लागि किर्गिस्तानका कन्सुलर रहेका शंकर ग्रुपका संचालक शुलभ अग्रवाल पक्राउ परेदेखि काठमाडौंको नक्सालमा रहेको कन्सुलर कार्यालय अनिश्चित कालका लागि बन्द भएको छ।
नक्सालमा रहेको सो कार्यालय चार महिनादेखि बन्द रहेको छ। थर्मल गन कालोबजारीमा नेपालकै प्रतिष्ठिन घरानियाका शंकर ग्रुपका संचालक अग्रवाल पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले पनि सो कार्यालय बन्द गर्न पत्राचार गरेको थियो।
स्रोतका अनुसार कालोबजारीमा पक्राउ परेर मुद्दा चलेपछि शुलभ अग्रवाललाई किर्गिस्तानको परराष्ट्र मन्त्रालयले पनि कार्यालय बन्द गर्न इमेल गरेको थियो।
'मन्त्रालयले पनि कन्सुलर कार्यालय बन्द गर्न भनेको थियो, सोही अनुसार हामीले सो कार्यालय बन्द राखेका छौं,' कन्सुलर कार्यालयमा कार्यरत एक कर्मचारीले भने। चार महिनाका बीचमा सो कार्यालयबाट हुने काम केही भएको छैन।
स्रोतका अनुसार कन्सुलर कार्यालयका केही कर्मचारीलाई जागिरबाट हटाइएको छ भने, केहीले राजीनामा दिएर बसेका छन। कन्सुलर कार्यालयमा कार्यरतलाई चार महिनादेखि तलव सुविधा दिइएको छैन।
अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। कोभिड १९ ले सारा संसारमा त्रास छरिरहेका बेला उनी भने ३ हजार पर्ने थर्मल गन १५ हजारमा बेच्दै हिँडेका बेला पक्राउ परेका थिए। उनी सवार २०९ एच सिसि नम्बरको निलो नम्बर प्लेटको गाडी, गाडी भित्र दर्जनौ थर्मल गनसहित उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेको २२ दिन सम्म प्रहरी हिरासतमा बसेपछि उनलाई काठमाडौं जिल्ला अदातले कालोबजारीमा सम्लग्न भएको भन्दै २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
न्यायाधिश ब्रजेश प्याकुरेलले छाड्ने आदेश दिने वित्तिकै खुसीले रिहा भएका उनी अदालत बाहिर आउने वित्तिकै काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा परेका थिए।
कालोबजारी गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको थियो।
विभागले उनलाई छाडेर अनुसन्धान गरिरहेको छ जुन अहिलेसम्म सकिएको छैन। उनी पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले भने अवैतनिक महावाणिज्यदूतहरुलाई दिदैँ आएको सेवा कटौती अचानक गरेको छ।